ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा टुङ्ग्यायो उम्मेदवार, तुलसीपुरका प्रमुखमा नेपाली कांग्रेसका गिरी

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् । सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उम्मेदवार बनेका छन् । त्यस्तै नेकपा (एमाले) ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा सत्तासाझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा नगरप्रमुखमा र उपप्रमुखमा कांग्रेसका भूपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिए । एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहोर्याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ । यसैबीच जिल्लामा आज मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार आज साना दलहरूलाई बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराइएको छ भने भोलि अर्थात् उम्मेदवारी दर्ताको अन्तिम दिन प्रमुख दललगायतले उम्मेदवारी दर्ता गर्नेछन् ।

सत्तासाझेदार दलका बीच सहमति

मुगु– सत्ता साझेदार दलहरूका बीच मित्रवत् प्रतिस्पर्धाको गरेर निर्वाचनमा जाने सहमति भएको छ । जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबीच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत प्रतिस्पर्धामा जाने निर्णय गरेका थिए । आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए । केन्द्रको निर्णय नमान्दा आ–आफ्ना पार्टीमा जिल्लाको छवि खराब देखिने भएपछि जिल्लाका शीर्षनेता शनिबार मध्यरातमा सहमतिमा पुगेका हुन् ।

सहमतिअनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडामध्ये नौ वडासहित नगरप्रमुख, खत्याड र सोरु गाउँपालिकामा रहेका ११ वडामध्ये ५–५ वडासहित उपाध्यक्ष र मुगुम कार्मारोङमा रहेका नौ वडामध्ये ५ वडासहित अध्यक्षमा कांगे्रसलाई सत्तासाझेदार दलहरूले सहयोग गर्ने सहमति भएको कांगे्रस मुगुका उपसभापति हरिजङ्ग शाहीले जानकारी दिए । यस्तै छायाँनाथ रारामा उपप्रमुख, खत्याडमा अध्यक्ष र मुगुम कार्मारोङमा उपाध्यक्ष माओवादीले र सोरुको प्रमुख समाजवादीले उम्मेदवार उठाउने सहमति भएका थिए । वडा सङ्ख्यामात्र सहमति भएकाले जिल्लाभरि कुन–कुन वडा कुन पार्टीले लिने र कति सदस्य कसले लिनेबारे आज सहमति गरेर उम्मेदवार टुङ्गो लगाउने र उम्मेदवारी दर्ता गठबन्धन दलहले सोमबार गर्ने उपसभापति शाहीले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्