जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक, सार्वजनिक शिक्षालाई निजी शिक्षा भन्दा उन्नत बनाउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणापत्रको सार्वजनिक पार्टीका पार्टीका अध्यक्षद्वय डा।बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोक कुमार राई, नेताहरु महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश अधिकारी र दुर्गा सोबले संयुक्त रुपमा गरेका थिए ।

घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमार्फत् लोकतन्त्रलाई सही अर्थमा जनताको घर दैलोमा पुयाउनु आफ्नो पार्टीको मुख्य ध्येय भएको बताए । स्थानीय तहलाई टोल–टोलसम्म जनताको सहभागितामा सञ्चालन गर्ने उनले उल्लेख गरे । लोकतन्त्रलाई समावेशी, समानुपातिक र सहभागितामूलक बनाउन आफ्नो पार्टीको प्रयास रहने उनले बताए । सार्वजनिक शिक्षालाई निजी शिक्षा भन्दा उन्नत बनाउने, सामाजिक सुरक्षा भत्ता घरघर सम्म पुयाउने, पालिकाहरुले भू–उपयोग योजना बनाएर मात्रै बस्ती बनाउन सक्ने लगायतका योजनाहरु पार्टीको घोषणापत्रमा रहेको उनले जानकारी दिए । जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले जसपाले जितेको पालिकामा कृषिमा आधारित ग्रामिण स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने बताए ।

प्रत्येक पालिकामा ५० शैय्याको अस्पताल, प्रत्येक वडामा स्वास्थ्य चौकी र प्रत्येक व्यक्तिलाई स्वास्थ्य बीमा गराउने आफूहरुको योजना रहेको उनले सुनाए । प्रत्येक घरमा विद्युतिकरण गर्नेदेखि ग्रामिण वातावरणलाई सुधारेर स्वच्छ बनाउने सम्मका योजना पार्टीको घोषणापत्रमा रहेको उनले बताए । जसपाले सुशासन र पारदर्शीतालाई स्थानीय तहमा स्थापित गराउन पार्टीको ध्यान जाने बताएको छ । स्थानीय तहको सेवालाई अझ प्रभावकारी बनाउँदै यातायातको सुविधा नभएको ठाउँमा घर–घरमा टोली पठाएर सेवा पुयाउने घोषणापत्रमा उल्लेख गरिएको छ । विकास निर्माणको काममा प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर मात्र गरिने उल्लेख गरिएको छ । करको दायरालाई बढाएर करको दरलाई भने घटाउने जनाइएको छ । त्यसैगरी जसपाको घोषणापत्रमा पालिकाको वरिपरि रिङ रोड निर्माण गर्ने, पालिका र वडा जोड्ने सडक निर्माण गर्ने उल्लेख गरिएको छ ।

पालिकामा महत्वपूर्ण योजना बनाउँदा सर्वदलीय सहमती गरेर अगाडी बढ्ने बताइएको छ । खानेपानीलाई २०० युनिट सम्मको शुल्क मिनाहा गर्ने, आधुनिक शौचालय निर्माण गर्न प्रत्येक परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने, ढलको व्यवस्थापन गर्न गुरुयोजना बनाएर काम गर्ने लगायतको योजना बनाइएको छ । त्यसैगरि व्यवसायिक शिक्षालाई जोड दिदै हरेक पालिकामा एउटा नुमना माध्यामिक शिक्षा सञ्चालन गर्ने, हरेक स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा एउटा वर्थिङ सेन्टर स्थापना गर्ने, पाँच वर्ष भित्रमा पालिका भित्रका सबै जनतालाई स्वास्थ्य बिमा गरिने तथा विपन्न वर्गको लागि स्वास्थ्य बीमाको प्रिमियर पालिकाले तिरिदिने व्यवस्था गरिने जनाइएको छ । हरेक पालिकामा एक–एक विगाहामा खेल मैदान निर्माण गर्ने र नगरपालिकामा तीन वटासम्म रंगशाला बनाउनुका साथै महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने प्रतिवद्धता गरिएको छ ।

पाँच वर्ष भित्रमा पशु बीमा कार्यक्रमलाई लागु गर्ने, महिलाहरुले होमस्टे सञ्चालन गर्न चाहे पाँच प्रतिशत व्याजमा पचास लाख रुपैयाँसम्म ऋण दिने, वैदेशिक रोजगारबाट आर्जित रकमको कोष निर्माण गरेर मुलुकमा हुने लगानीमा सेयरधनीमा रुपान्तरण गर्ने लगायतका कुरा घोषणापत्रमा उल्लेख गरिएको छ । वृद्धहरुको स्याहार–सुसार गर्न नसक्ने परिवारका लागि विशेष आवास गृह सञ्चालन गर्ने र हरेक वडामा जेष्ठ नागरिक भेटघाट केन्द्र निर्माण गर्ने बताइएको छ । महिलाको नाममा जग्गा धनि पुर्जा भएको हकमा भूमि करमा २५ प्रतिशत छुट दिने पनि जसपाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्