कांग्रेसको घोषणापत्रप्रति एमालेको टिप्पणी, अध्यक्ष ओली भन्छन्- ‘काँग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा छ’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताएका छन् । मंगलवार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दामात्र भएको दाबी गरेका छन् ।

उनले नेपाली काँग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्रपतिमाथि आरोप लगाएको र एमालेको राजनीतिक दस्ताबेज चोरेको आरोपसमेत लगाए । अध्यक्ष ओलीले उनले २०६२-०६३ मा सँगै आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसलाई सन्चो नहुनुको कारण सोध्नुपर्ने बेला भएको बताए । उनले पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा नभएको, र नेकपा एमालेको घोषणापत्र सारेको आरोप लगाए । उनले नेपाली काँग्रेससँग अहिले कुनै राजनीतिक एजेण्डा र देश विकासको योजना नभएको र काँग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग देश विकास गर्ने कुनै एजेण्डा नभएको आरोप लगाए । उनले सुशासन वा साशन कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग कुनै योजना नभएको बताए । अध्यक्ष ओलीले नेपाली काँग्रेस अहिले गठबन्धन नामको कुहिएको लौरोको भरमा रहेको बताए । उनले गठबन्धन नामको कुहिएको लौरो आसन्न स्थानीय निर्वाचनबाट सकिने दाबीसमेत गरे । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ केन्द्र भएको दाबी गरे । चुनाव घोषणापत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणापत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे । उनले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्ने बाँकी कुरा नभएकोले ननिकालेको आरोप लगाए ।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई फाटोवादी, चोइटोवादी भएको आरोप लगाए । उनले हतारमा घोषणापत्र निकालेको समाजवादीको घोषणापत्रमा केही तुक नरहेको दाबी गरे । अध्यक्ष ओलीले अहिलेको गठबन्धन अपराधका लागि बनेको अपराधी गठबन्धन भएकोले चुनाव सार्ने गाड्यन्त्र भइरहेको तर नेकपा एमालेले चुनाव सार्न नदिने स्पष्ट पारे । उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजक नबनीकन अगाडि बढ्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्