विदेशबाट फर्केर गाईपालनबाट आम्दानी गर्दै, दैनिक ७० लिटर बराबरको दूध उत्पादन

Ad
  • कालोपाटी सम्बाददाता

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्थे । विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किएका केसी पछिल्लो समय गाईपालनमा रमाएका छन् । उनको आफ्नै गाईफार्म छ । केसी दिनभर गाईको गोबर सोह्र्छन् । गाईलाई दाना–घाँस खुवाउँछन् ।

साँझ बिहान भने उनको गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किन्छन् । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ । केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बसे । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उनले भने । केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थालेका हुन् । उनले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल भएका छन् ।

“मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उनले भने , “अब विदेश जाने सोचै छैन ।” केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दै छन् । सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उनि बताउँछन् । घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उनि बताउँछतन् । केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गरेका हुन् । अहिलेसम्म उनले उक्त संस्थाबाट रु पाँच लाखसम्म ऋण लिइसकेका छन् छ ।

हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उनको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पालेका छन् । व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उनले त्यो लगानी उठाईसकेका छन् । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताए । उनले रु १० हजार तलब दिएर एक कर्मचारीसमेत राखेका छन् । दूध बिक्री गर्न बजारीकरणको समस्या छैन । “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भने । उनले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याएका हुन् ।

केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लाग्नु भएको छ । हाल उनको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उनले बताए । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उनको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो”, श्रीमती सरिताले भने “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।” –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्