स्रष्टा तारकिणीका लागि सहयोग सङ्कलन अभियान, चार लाख ५० हजारभन्दा बढी सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । कवि तथा पत्रकार राजेन्द्र तारकिणीको सहयोगार्थ सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग सङ्कलन अभियान चलाएको छ । अभियानअन्तर्गत हालसम्म रु चार लाख ५० हजारभन्दा बढी सङ्कलन भएको छ । हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत सक्रिय छन् ।

उनको हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ । उपचार सफल भएमा उनको श्रवणशक्ति पुनः प्राप्त हुने सम्बन्धित चिकित्सकले बताए । ‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै रु १८ लाखदेखि रु २० लाखसम्म खर्च हुने बताइएको छ । अभियान संयोजकसमेत रहेका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरका अनुसार हालसम्म १२१ जनाबाट सहयोग रकम सङ्कलन भएको हो । “एक प्रतिभाशाली स्रष्टा, जो श्रवण अपाङ्गताका बाबजुद साहित्य–कला र पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान दिइरहनुभएको छ, उनको उपचार गर्ने दायित्व राज्यको हुनुपर्ने हो”, अध्यक्ष मगरले भने , “राज्यको नजरबाट वञ्चित तारकिणीजस्ता स्रष्टाका लागि हामी हातेमालो गर्दै सहयोग रकम सङ्कलन गरिरहेका छौँ ।”

विभिन्न संस्था–समूहबाट सहयोग सङ्कलन भइरहेको प्रतिष्ठानका केन्द्रीय महासचिव डिजी शर्माले बताए । अनेसास जापान शाखाका साथै किराँत–राई यायोख्खा शाखा युनाइटेड अरब इमिरेटस् युएईले सहयोग सङ्कलन गर्न लागेको शाखाका उपाध्यक्ष सरुशीतल राईले जानकारी दिए । प्रतिष्ठानले तारकिणीको उपचारका लागि सबै क्षेत्र, तह र तप्कालाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्