उपल्लो मुस्ताङमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन, ११ चिकित्सक तथा आम्चीहरु सहभागी

Ad
  • कालोपाटी सम्बाददाता

मुस्ताङ । सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ र सोवा रिग्पा एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा तीन हप्तासम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार ७५० जनाको स्वास्थ्य परीक्षण गर्नुकासाथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

शिविरमा सोवारिग्पाका ११ चिकित्सक तथा आम्चीहरु सहभागी थिए । वातावरण तथा जैविक विविधताको संरक्षण गरी स्थानीय जडीबुटीहरुको सम्बद्र्धन गर्ने उद्देश्यले दुबै गाउँपालिकाका प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको एशोसिएशनका अध्यक्ष डा आम्ची तेन्जिङ धार्के गुरुङले जानकारी दिनुभयो । उनका अनुसार कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, आमा समूहका पदाधिकारी, गाउँका मुखिया र विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।

एशोसिएशनले केही वर्षयता वर्षेनी यस किसिमका स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तनको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी विस्तारै लोप हुँदै गएको अवस्थामा तिनको संरक्षण र त्यसका लागि वातावरणीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधर बिष्टले बताए ।

कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वतमान अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले पनि सोवारिग्पा प्राकृतिक उपचार विधिलाई विस्तार गर्न पालिकाहरूले सक्दो सहयोग गर्ने बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्