चन्द्रागिरिमा पुनः घनश्याम गिरी : ‘नगरवासीले सुम्पिएको अभिभारा पूरा गर्छु’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ । प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित घनश्याम गिरी कांग्रेसका तर्फबाट पुनः मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने वडा न १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा कांग्रेसले विजय हासिल गरेको छ । नवनिर्वाचित नगर प्रमुख गिरीले १५ हजार ४७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उत्तमबहादुर रावतले १४ हजार ६५१ मत प्राप्त गरेका छन् । उनी वडा नं १५ का निवर्तमान वडाध्यक्ष थिए ।

कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल छन् । नवनिर्वाचित मेयर गिरी कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापति समेत हुन । निर्वाचित भएपछि उनले भने, “निर्वाचनका समयमा नगरवासी समक्ष आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेछु । यस चन्द्रागिरि नगरलाई मुलुककै नमूना प्रविधि मैत्री नगरपालिकाको रुपमा स्थापित गर्नेछु ।”

‘उत्पादन रोजगार र बजारीकरण : प्रविधि युक्त सुशासन’ भन्ने चुनावी नाराका साथ उनि निर्वाचनमा होमिएका थिए । उनका मार्गचित्रमा सुशासन एवं सूचनामैत्री नगर बनाउने, उत्पादन प्रवद्र्धन र प्रोत्साहन गर्ने, प्राविधिक शिक्षालय र तालिम केन्द्र स्थापना गर्ने, प्रविधिमैत्री शिक्षामा जोड, गुणस्तरीय स्वास्थ सेवा प्रवद्र्धन, सफा र रमणीय वातावरण, पर्यटन प्रवद्र्धनः धर्म, संस्कृति, कला र गुठी संरक्षण लगायताका छन् ।

काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरिको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएकोमा यस पटकको निर्वाचनमा ३६ हजार ७१२ ले मतदान गरेका थिए । यस पटकको निर्वाचनमा २२ मतदानस्थल ५६ मतदान केन्द्र तोकिएका थिए ।

वि.सं २०७४ जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ३८ हजार ८३६ मतदाता थिए । सो निर्वाचनमा १३ हजार ३०९ मत प्राप्त गरी कांग्रेसका नेता गिरी मेयर पदमा निर्वाचित भएका थिए । कांग्रेसले सो निर्वाचनमा चन्द्रागिरिका वडा नं ३, ४, ७, १२ र १४ मा वडाध्यक्ष पद आफ्नो पक्षमा ल्याएका थिए । कांग्रेस चन्द्रागिरि नगर समितिका उपसभापति राजेन्द्र विक्रम बानियाँ एवं नवीन महर्जनले नेपाली कांग्रेस र गठबन्धनक उम्मेदवारलाई चन्द्रागिरि नगरपालिकाको नेतृत्व गर्न आफ्नो अमूल्य मतदान गर्नुहुने सबै नगरवासीलाई धन्यवाद दिएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्