एक करोड लगानीमा जिमखाना सञ्चालन, शारीरिक सुगठन र स्वास्थ्यका लागि युवाको आकर्षण

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । सहरीया युवालाई लक्ष्य गरी यहाँ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले मोर्डन फिजिकल फिटनेस सञ्चालनमा ल्याएका छन् । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ । सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए । “संरचना निर्माण र जिमखानाका सामग्री किन्दा एक करोड जति खर्च भयो”, उनले भने , “यसमा कार्डियो र जिम गरेर दुई कक्ष छन् ।”

मोटोपन घटाउने पेटको कसरतका लागि छुट्टै व्यायामशाला छ । शारीरिक सुगठनका खेलाडीदेखि सर्वसाधारणले जिमखानाबाट लाभ उठाउन सक्छन् । दूरसञ्चार रोड नजिकमा जिमखाना रहेको छ । जिमखाना आउन चाहानेका लागि भर्ना खुला गरिएको छ । २० जना भर्ना भइसकेर आइतबारदेखि नियमित व्यायाममा आउन थालेका छन् । सुरुमा भर्ना शुल्क रु एक हजार तोकिएको छ । प्रतिव्यक्ति महिनाको रु दुई हजार, तीन महिनाको रु पाँच हजार, छ महिनाको रु १० हजार र एक वर्षको रु २० हजार शुल्क राखिएको सञ्चालक खड्काले जानकारी दिए ।

अरुको जिमखानामा जाँदाजाँदै आफैँ लगानी गरेर जिमखाना खोल्ने सोच पलाएको सञ्चालक खड्काले उल्लेख गरे । कोभिड–१९ ले निम्ताएको बन्दाबन्दी ताका खड्काले खाली रहेको आफ्नै जग्गामा जिमखानाका लागि संरचना निर्माण गरेका थिए । व्यायामका सामान आउन ढिलाइ भएपछि जिमखाना सञ्चालन पनि पछाडि धकेलिँदै आएको थियो । “जिमको सामान सबै आधुनिक छ, सबै चीनबाट आएको हो”, उनले भने , “महिला, पुरुष दुवैका लागि मिल्ने व्यायामका सामान छन्, त्यहीअनुसार सिकाइन्छ ।” सहरीया जीवनशैली, खानपान आदि कारणले स्वास्थ्य जटिलता थपिँदै जान थालेपछि मानिसले शारीरिक व्यायामतर्फ ध्यान दिन थालेका छन् ।

कोही ‘मर्निङ वाक’मा निस्कन्छन्, कोही खेलकुदमा रमाउँछन् । कोही जिमखाना धाउँछन् । जिमखानामा विशेष गरी युवाको आकर्षण बढ्दै गएको देखेपछि लगानीको जोखिम उठाएको सञ्चालक खड्काको भनाइ छ । यहाँ योसँगै अरु दुईवटा जिमखाना पनि सञ्चालनमा छन् । त्यसमध्ये एउटा धेरै पुरानो हो । नागरिकको स्वास्थ्यलाई दृष्टिगत गरी नेपालका कतिपय स्थानीय तहले सार्वजनिक जिमखाना पनि खोलेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्