काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिताका साथ कार्यक्रम गर्दै आएको बताएका छन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौँको १०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सेनाले दिएको प्राथमिकताबाट शिक्षा र स्वास्थ्यमा सकारात्मक फाइदा लिन सबैमा आग्रह गरे । उनले गुणस्तरीय पठनपाठनलाई निरन्तरता दिँदै विद्यार्थीको नैतिक पक्षलाई सबल बनाउन संस्थानलाई सुझाव पनि दिए ।
प्रधानसेनापति शर्माले कुनै पनि संस्थाको समयानुकूल विकास, सुदृढीकरण र आधुनिकीकरण अपरिहार्य हुने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिकित्सा क्षेत्रमा भइरहेको द्रुत विकास, अनुसन्धान तथा प्रयोगलाई आत्मसाथ गरी संस्थानलाई अगाडि बढाउन आग्रह गरे । आधुनिक प्रणालीको शिक्षण पद्धति अङ्गाल्नेतर्फ संस्थान उम्मुख हुनुपर्नेमा उनको जोड थियो । नेपालको समग्र शैक्षिक अवस्थालाई अभिवृद्धि गर्ने पवित्र कार्यमा संस्थानलगायत अन्य शिक्षण संस्थानमार्फत थोरै भए पनि योगदान गर्न पाउनु नेपाली सेनाका लागि गौरवको विषय बनेको उनको भनाइ थियो । उनले भविष्यमा यस्ता शिक्षण कार्यको परिधिलाई फराकिलो पार्दै थप कार्यक्रम ल्याउने कुरामा संस्थानले अझै कोशिष गर्ने अेपक्षा राखे ।
संस्थानले हालको उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको चिकित्सका शिक्षा दिनेमा विश्वस्त रहेको शर्माले बताए । उनले गुणस्तरयुक्त मेडिकल शिक्षा दिने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे । समारोहमा संस्थानका कार्यकारी निर्देशक प्रा. डा. नगेन्द्रबहादुर केसीले सैनिक कल्याणकारी योजनाअन्तर्गत स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले वि.सं २०६८ मा संस्थान स्थापना भएको बताए । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा दिव्यसिंह शाहले संस्थानले मुलुकका सैनिक परिवारका विद्यार्थीका साथै दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्राविधिक शक्षिा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले शिक्षा आर्जनका लागि विद्यार्थीबाट मात्रै वार्षिक ४३ अर्ब बाहिरिरहेको सन्दर्भ जोड्दै त्यसलाई रोक्नतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले सरकारले ऐन, नियममा भएका कमिकमजोरी हटाउन सुधारको प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । समारोहमा संस्थानको चिकित्साशास्त्र महाविद्यालयका प्राचार्य प्राडा इभा श्रेष्ठ, पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङकी धर्मपत्नी कमला गुरुङ, संस्थानको कलेज अफ मेडिकल पोलिटेक्निकका प्राचार्य डा. सुधासेन मल्ललगायतले धारणा राखेका थिए ।
समारोहमा संस्थानको स्थापना कालदेखि नै सहयोग गर्दै आएका प्रा.डा. हरिगोविन्द श्रेष्ठ, प्रथम कार्यकारी निर्देशक प्राडा प्रकाशराज पाण्डे र पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई सम्मान गरिएका थिए । सोही क्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएका थिए । –रासस