बन्चरेडाँडामा खसाउन थालियो उपत्यकाको फोहोर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको फोहोर पहिलो पटक बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा खसाउन सुरु गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको सेल वान निर्माण सम्पन्न भएसँगै आजदेखि उपत्यकाको फोहोर बन्चरेडाँडामा खसाउन सुरु गरिएको हो । नुवाकोटको सिसडोल ल्याण्डफिल्ड साइट भरिएपछि सरकारले धादिङ र नुवाकोटको सिमानास्थित बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माणको काम सुरु गरेका थिए । लामो समयदेखि काठमाडौं र ललितपुरमा थुप्रिएको फोहोर सोमबारदेखि उठ्न थालेको छ ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा काठमाडौँ महानगरपालिकाले सोमबार राति नै विसर्जनका लागि बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा काठमाडौँबाट पठाएका थिए । मङ्गलबार पनि काठमाडौँबाट फोहोर बोकेका ट्रक बन्चरेडाँडातर्फ पठाइएका छन् । सोमबार राति मन्त्री झाँक्रीले बालाजु, रातोपुललगायत क्षेत्रमा फोहोर उठेरनउठेको अनुगमन गरेका थिए । हाल काठमाडौँ र ललितपुरबाट १०० वटा ट्रक फोहोर बन्चरेडाँडामा खसाइएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । स्थानीयले सामान्य विरोध गरे पनि स्थिति सामान्य रहेको बताउँदै उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अब निरन्तर फोहोर विसर्जन गरिने बताए ।

मन्त्री झाँक्रीले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, काठमाडौँ र ललितपुरका सुरक्षा निकायका प्रमुखसहितलाई बैठक बोलाएर तत्काल काठमाडौँको फोहोर विसर्जन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । काठमाडौँमा नयाँ मेयरको आगमनअगावै फोहोर व्यवस्थापन गर्न महानगरले पहल गरिरहेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए । उनले जुनसुकै परिस्थितिमा पनि फोहोर व्यवस्थापनका लागि आफू तत्पर रहेको बताए ।

यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएको महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण फोहोर विसर्जन गर्न समस्या भएका थिए । काठमाडौँ र ललितपुरका चोक र गल्लीमा फोहोर थुप्रिएको भन्दै मन्त्री झाँक्रीले सरोकारवाला निकायलाई यथाशीघ्र फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्