डिभिजन कार्यालय झापाले करिब पाँच लाख बिरुवा वितरण गर्ने, खटाइयो सात जना परिचालिका

Ad
  • कालोपाटी सम्बाददाता

झापा । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए । ती मध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् ।  वन बिरुवा रु ४७ लाख ५० हजार र फलफूलका रु छ लाख गरी रु ५३ लाख ५० हजार बराबरको बिरुवा वितरण गर्न लागिएको हो ।

बिरुवा असार १५ गतेदेखि वितरण गरिने कार्यालयले जनाएको छ । टिक, मसला, मलेसियन साल, सतिसाल, धुपी, खमारी, श्रीखण्ड, रुद्राक्ष, निमारो, कदम, चाप, गोल्डमोहा, कल्कीफूल, बकाइनोलगायतका २० प्रजातिका वन बिरुवा र आँप, कटहर, लिची, नरिवल र सुपारीको बिरुवा वितरण गर्न लागिएको उनले बताए । “यीमध्ये श्रीखण्ड र रुद्राक्ष बहुमूल्य प्रजातिका रुख हुनुका साथै धार्मिक दृष्टिकोणले समेत घरघरमा लगाउने गरिन्छ”, उनले भने , “यी बिरुवा हालै मात्र वितरण गर्न थालिएका हो ।”

यी बिरुवा अन्यत्र नर्सरीबाट किन्दा रु दुई सयभन्दा बढी पर्ने भए पनि निःशुल्क वितरण गर्न लागिएको उनको भनाइ छ ।  यो वर्ष श्रीखण्डको मात्र १० हजार विरुवा वितरणका लागि तयारी अवस्थामा रहेको छ । डिभिजन वन कार्यालयअन्तर्गतका सात नर्सरीमा बिरुवा तयार भइरहेका छन् । जलथल, चन्द्रगढी, बहुवन, सुरुङ्गा, केर्खा, प्रजापतिमा ७५-७५ हजार र कमलधापमा ५० हजार बिरुवा वितरणका लागि तयार गरिँदैछ । त्यस्तै, १५ हजार फलफूलका बिरुवाका लागि बोलपत्र आह्वान गरिएको छ । रु १५ बराबरको बोलपत्र आह्वान गरिए पनि रु छ लाख ठेक्का लागेको कार्यालयले जनाएको छ ।

गाउँघरमा रुख बिरुवाको माग र वितरणका लागि जिल्लाभर सात जना परिचालिका खटाइएको छ । उनीहरुले नै बिरुवाको माग विवरण तयार गर्ने सोहीअनुरुप बिरुवा तयार गरी वितरण गर्ने गरिएको छ । यस्तै, झापाका जडीबुटी पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार भण्डारणका लागि अनुदान आएको छ । चालु आर्थिक वर्षमा जिल्लाका पाँच वटा पकेट क्षेत्रलाई लक्षित गरी रु नौ लाख अनुदान आएको हो । हल्दीबारी गाउँपालिका सहित भद्रपुर , गौरादह, मेचीनगर र अर्जुनधारा नगरपालिकाका जडीबुटी पकेट क्षेत्रमा खेती विस्तार तथा भण्डारणका लागि अनुदान आएको सहायक वन अधिकृत खत्रीले बताए ।

जडीबुटी विकास सङ्घ सशर्त तर्फको सो कार्यक्रमअन्तर्गत पामारोजा, लेमनग्रास, पचौली, तुलसी, सतावरी र अश्वगन्धा खेती तथा भण्डारण गर्ने कृषकका लागि लक्षित गरिएको हो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्