साठी जनाको आँखाको शल्यक्रिया, विकट क्षेत्रका बासिन्दाको उपचारमा सहयोग पुर्याउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ । तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो ।

विकट क्षेत्रका यहाँका बासिन्दालाई आँखाको उपचारमा सहयोग पुर्याउने  उद्देश्यले शिविर आयोजना गरिएको तिलगङ्गा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत खेम लामाले बताए । उनका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो । तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सन्दुक रोहितको संयोजकत्वमा आठ चकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेको थियो ।

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको नार र फु गाउँका ज्येष्ठ नागरिक तथा बालबालिका शिविरमा सहभागी थिए । आँखामा जालो बसेको, मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको डा रोहितले बताए । बिरामीको आँखाको परीक्षणसँगै शल्यक्रिया निःशुल्करुपमा गरिएको उनको भनाइ थियो । गाउँघरमै आँखा परीक्षणको व्यवस्था भएकामा मनाङवासी हर्षित भएका थिए । नार्पाभूमि गाउँपालिका नार गाउँका ८४ वर्षीय फुन्जो ओङ्जेन लामाको आँखामा समस्या भएर उपचार गराउन कठिन भइरहेको अवस्थामा नजिकै उपचार गराउन पाएकामा खुसी लागेको बताए ।

“गाउँबाट आँखा जचाउन चामे आएको थिएँ, काठमाडौँ वा पोखरालगायत ठाउँमा जानुपर्ने बेला यहीँ उपचार पाउने भएपछि गाउँबाट चामे झरेको हुँ”, उनले भने , “सजिलो भयो, यही आँखाको शल्यक्रिया गरिएको र चिकित्सकले ठीक हुने बताएका छन् ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्