सुरु भयो शैक्षिक सत्र, पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या

Ad
  • कालोपाटी सम्बाददाता

उदयपुर । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको पर्शुरामपद्मा माविका कक्षा १० मा अध्ययनत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गरे । जिल्ला सदरमुकाम गाईघाटमा पुस्तक लिन आएका उनले भने , “विद्यालयमा पठनपाठन सुरु भइसक्यो । पुस्तक लिन गाईघाट आएँ । तर कहीँ पाइएन । रित्तै घर फर्कँदैछु ।” रौतामाई गाउँपालिका–४ मलबासेका ५५ वर्षीय जीतबहादुर मङ्ग्राती आफ्ना छोराहरूका लागि पुस्तक नपाएको गुनासो गरे ।

उनले भने , “यसपटक समयमै स्कुल त खुल्यो, अहिलेसम्म किताब छैन । कसरी पढाउने, चिन्ता लाग्न थालेको छ ।” अहिले जिल्लाका सरकारी र अधिकांश निजी विद्यालयमा पुस्तक अभाव रहेको शिक्षकले जनाएका छन् । जिल्लाका केही निजी विद्यालयमा भने ६० प्रतिशत पाठ्यपुस्तक उपलब्ध भइसकेको भए पनि सरकारी विद्यालयमा भने पाठ्यपुस्तक प्राप्त गर्न नसकेको शिक्षक तथा विद्यार्थीको गुनासो छ । बालमन्दिर मावि गाईघाट बोक्सेका प्राचार्य जङ्गबहादुर खड्का भने , “नयाँ शैक्षिकसत्र सुरु भयो । स्थानीय तहको निर्वाचनका कारण केही दिन विद्यालय बन्द भए ।

अब सञ्चालन हुन थालेका छन् ।  विद्यालयमा पाठ्यपुस्तक प्राप्त हुन नकसकेको कारण पठनपाठनमा समस्या भएको छ ।” पुस्तक पसल सञ्चालक विष्णु न्यौपानेले भने “आफूहरूले त चैतदेखि नै काठमाडौँका पुस्तक प्रकाशक र डिलरहरूसँग पुस्तक मगाए पनि कतिपय पुस्तक अझै प्रकाशन हुन बाँकी रहेको भन्ने उत्तर पाएको कारण अझै पुस्तक उपलब्ध हुन दुई÷चार हप्ता लाग्न सक्छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्