गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्धिको बहसमा केन्द्रित गरौँ : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले आपसमा निराशा बाँडेर बस्ने हाम्रो समाजिक प्रवृत्तिलाई आफूहरुले मुलुकमा गणतन्त्र स्थापना गरेर सुशासन र समृद्धितर्फको बहसमा केन्द्रीत गर्न सफल भएको बताएका छन् । उनले अघिल्लो सरकारले नयाँ संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको बताए ।

“आजको यस ऐतिहासिक दिनले मुलुकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आधारित राजतन्त्रात्मक शासकीय व्यवस्थाबाट जनताको सर्वोच्चताको प्रणालीमा रुपान्तरण गरेको थियो, मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ताको स्रोत नेपाली जनतामा निहीत रहने ऐतिहासिक उपलब्धि हामीले हासिल गरेका थियौँ”, उहाँले सन्देशमा भनेका छन् , “यस ऐतिहासिक परिवर्तनपछि मुलुकले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको अभ्यास गरिरहेको छ ।”

अध्यक्ष ओलीले संविधानमा निहीत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरचनात्मक अभ्यासमा अनुवाद गरेर मुलुकमा नवनिर्माणको नयाँ युगको थालनी भएको बताए । “जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा भएका यस्ता युगान्तकारी कामले गणतन्त्रात्मक शासन व्यवस्थालाई सृदुढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो, यसले सिङ्गो राष्ट्रलाई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यतर्फ अघि बढाएको थियो”, उनले सन्देशमा भनेका छन् ।

उनले जनताको बलिदानीपूर्ण सङ्घर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अङगलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या तथा अपव्याख्याद्धारा प्रहार गर्ने कामसमेत भइरहेको उल्लेख गरे । “संविधानमाथि प्रहार गर्दा मुलुकको दुरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाप्रतिको जनताको आस्थामाथि समेत चोट पु¥याएको छ”, उनले सन्देशमा भनेका छन् , “आज मुलुकको विकासमा सम्पूर्ण काममा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनको लिएको छ ।”

उनले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्ने सङ्कल्प बोकेको पार्टी रहेको भन्दै राष्ट्रको यस आकांक्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्