स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । १५ जेठ नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । नेपाल सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्म सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो । यसैगरी गत आवको सोही अवधिमा भने एक करोड ९४ लाख २४ हजार घनफिट गोलिया काठ उत्पादन भएको थियो । यसैगरी चालू आवको आठ महिनामा १० हजार ६७७ चट्टा दाउरा उत्पादन भएको छ भने गत आवको सोही अवधिमा १० हजार ५८२ चट्टा दाउरा उत्पादन भएको थियो ।

वन तथा वातावरण मन्त्रालयले वार्षिक दुई करोड घनफिट गोलिया काठ उत्पादन गर्ने लक्ष्य राखेको प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए । यद्यपि बजारमा भने वार्षिक तीन करोड घनफिटभन्दा बढी काठको माग रहेको छ । नेपालमा बर्सेनि अर्बौं मूल्यका गोलिया काठ, काठजन्य सामग्री, विभिन्न किसिमका फर्निचर आयात हुने गरेको छ । मन्त्रालयले यसअघि वैज्ञानिक वन व्यवस्थापन विधिबाट मागअनुसारको काठ उत्पादन गर्ने र विदेशी काठको आयात कम गर्ने नीति लिएको थियो ।

तर सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाललगायत संस्थाले सुरुदेखि नै वैज्ञानिक वन व्यवस्थापनको विरोध गरिरहेका सन्दर्भमा तत्कालीन वनमन्त्री प्रेमबहादुर आलेका पालामा वैज्ञानिक वन व्यवस्थापन विधि नै खारेज गरिएको थियो । नेपालमा साल, सिसौजस्ता कडा काठको मात्र बढी प्रयोग हुने गरेको र ‘कुकाठ’ भनिने नरम काठको उचित सदुपयोग हुन नसक्दा काठको माग र आपूर्तिमा सन्तुलन हुन नसकेको यस क्षेत्रका व्यवसायीको भनाइ छ । साथै नेपाली काठ विदेशी काठको तुलनामा निकै महँगो रहेको छ । नरम काठको सिजनिङ र ट्रिटमेन्ट गरी प्रयोग बढाउनुपर्ने र सरकारले पनि सो नीति प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका पूर्वअध्यक्ष कपिलप्रसाद अधिकारीले बताए ।

नेपालको कूल वन क्षेत्र ४४.८ प्रतिशत

नेपालमा वन क्षेत्रले ५९ लाख ६२ हेक्टर र अन्य झाडी तथा बुट्यान क्षेत्रले छ लाख ४८ हजार हेक्टर भूभाग ओगटेको छ । कूल भूभागको ४० दशमलव ४ प्रतिशत वन र ४ दशमलव ४ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कूल वन क्षेत्र ४४ दशमलव ८ प्रतिशत रहेको आर्थिक सर्वेक्षेणमा उल्लेख छ । नेपालको भू–धरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा रहेको छ भने कम तराईमा छ । हालसम्म १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष र छ संरक्षण क्षेत्र गरी २० संरक्षित क्षेत्र रहेका छन् ।

नेपालको कूल ३४ हजार ४२० वर्गकिमी अर्थात् २३ दशमलव ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रअन्तर्गत एक लाख ९२ हजार २७ दशमलव ४३ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको तथ्याङ्क छ । यसैगरी हालसम्म २२ हजार ६८२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २४ लाख ९० हजार १९४ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको छ । दक्षिण एशियाली राष्ट्रमध्ये सबैभन्दा बढी वन क्षेत्र भूटानको ७२ दशमलव ५ प्रतिशत छ भने सबैभन्दा कम पाकिस्तानको १ दशमलव ९ प्रतिशत रहेको छ । भूटानपछि नेपालमा वन क्षेत्र बढी रहेको छ ।

चालु आवको फागुनसम्म रु दुई अर्ब २६ करोड ३३ लाख राजस्व सङ्कलन भएको छ । गत आवमा रु चार अर्ब छ करोड राजस्व सङ्कलन भएको थियो । सो राजस्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडीबुटी एवं अन्य गैरकाष्ठ वन पैदावार बिक्रीबाट प्राप्त राजस्व, प्रदूषण नियन्त्रण शुल्क, जरिवानाबाट प्राप्त राजस्व र प्रदूषण शुल्क आदिबाट सङ्कलन भएको मन्त्रालयको तथ्याङ्क छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्