स्वच्छ खानेपानीका लागि ३७ अर्ब ३५ करोड बजेट विनियोजन, राजधानीमा दैनिक ५१ करोड लिटर पानी आउने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले देशभर स्वच्छ खानेपानीको व्यवस्थाका लागि रु ३७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्को संयुक्त बैठकमा पेश गरेका आर्थिक वर्ष २०७९र८० को बजेटमा देशभर स्वच्छ खानेपानीको पहुँच विस्तार गरिने उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्चीको पानी पथान्तरणका लागि स्थायी एवं भरपर्दो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।

गत आवमै मेलम्चीको पानी राजधानीमा आइपुगे पनि अझै भरपर्दो पथान्तरणको व्यवस्था नहुँदा स्थायीरूपमा काठमाडौँमा पानी आपूर्ति हुनसकेको छैन । हेडवक्र्सको काम नसकिँदा वर्षायामसँगै आउने बाढीले गर्न सक्ने क्षतिका कारण पानी बन्द हुने गरेको छ । गत वर्ष मेलम्ची आएको बाढीले मुहान क्षेत्रमा पुगेको क्षति पुनःनिर्माण गरी यस वर्ष चैत अन्तिम साता फेरि मेलम्चीको पानी सुन्दरीजल ल्याई राजधानीवासीका धारामा वितरण सुरु भएको छ । यस वर्ष पनि वर्षा लागेसँगै सुरुङमा पानी बन्द गर्ने योजना खानेपानी मन्त्रालयले बनाएको छ ।

हाल मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानीमा वितरण भइरहेको छ । आगामी वर्षमा याङ्ग्री र लार्के खोलाको पानी राजधानी ल्याउन आवश्यक अध्ययन पूरा गरिने लक्ष्य पनि बजेटमा लिइएको छ । याङ्ग्री र लार्के खोलाको पानी पनि ल्याएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी आउनेछ । याङ्ग्री र लार्केबाट पनि दैनिक १७–१७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्