कैलाली । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनि मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । “मल नेपाली बजारमा सहजरुपमा पाउँदैन, भारतीय बजारबाट ल्याउन पाइँदैन”, चौधरीले भने , “यस्तो बेलामा कसरी खेती गर्नु रु मल नभए धान उत्पादन घट्छ ।”
कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएको र यस वर्ष पनि अभाव हुनसक्ने देखिएको छ । कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने भएको हो । सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट टे«डिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । तर यस वर्ष समयमा मल पर्याप्त मात्रामा आपूर्ति नहुँदा धानखेती गर्ने बेला मलको अभाव देखिने कृषि सामग्री कम्पनीका मौज्दात शाखा प्रमुख रुपबहादुर कुँवर बताउँछन् ।
“यस वर्ष धान रोप्ने समयमा मल अभाव हुने देखिन्छ”, उनले भने , “सुदूरपश्चिम प्रदेशका लागि भैरहवा नाकामा दुई हजार १०० मेट्रिक टन डिएपी मल आइपुगेको छ ।” कुँवरले मल नाकामा आए पनि इन्धनको मूल्य अधिक बढेर ढुवानीमा समस्या हुँदा आएको मल प्रदेशमा भित्र्याउन नपाएको बताए । मल ल्याउनका लागि प्रदेशमा रहेका कृषि सहकारीलाई प्रधान कार्यालय र प्रदेशको स्वीकृति लिएर भैरहवाबाटै मल ल्याउन दिने व्यवस्था गर्न थालिएको उनले बताए । “कैलालीमा रहेका ९५ कृषि सहकारीलाई मल ल्याउनका लागि स्वीकृत दिइएको छ”, उनले भने ,
“भैरहवा नाकाबाट मल ल्याउनका लागि सबै क्षेत्रमा मलको समानुपातिक वितरण भई मलको सहजताका लागि सहकारीलाई सोहीअनुसार मलको कोटा निर्धारण गरिएको छ ।” आवश्यकता हेरी धनगढीबाट टीकापुरसम्म मलको कोटा निर्धारण गरिएको उनि बताउँछन् । अब सहकारीले ल्याएमा मात्र किसानले समयमा मल पाउने देखिएको छ । रासायनिक मलका लागि जिटुजीमार्फत् डेढ लाख मेट्रिक टन भारतबाट खरिदको सम्झौता भएको छ ।
बर्र्खे धानखेतीका लागि भनेर सरकारले आपूर्तिका लागि सम्झौता गरे पनि जिटुजीमार्फत अहिलेसम्म नआएको सम्झौताअनुसार मल असार दोस्रो सातासम्म पुग्न सक्नेमा आशङ्का रहेको उनको भनाइ छ । कैलालीमा १८ मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको भए पनि आधा मात्र आपूर्ति हुने गरेको छ । त्यसैले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् । –रासस