बागलुङ बजारमा सिसी क्यामरा पुनः जडान, अपराध र चोरी नियन्त्रणका लागि सहयोग गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो । बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकमा पुनः सिसी क्यामरा जडान गर्ने प्रक्रियाअघि बढेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए ।

यसअघि बजारमा जडान भएका २९ सिसी क्यामरा प्रयोगविहीन अवस्थामा छन् । आवश्यक मर्मतसम्भारको अभावमा तीन वर्षयता प्रयोगविहीन भएका क्यामरा विस्थापन गरेर नयाँ क्यामरा जडानका लागि नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ । सङ्घको रु ८ लाख र बाँकी अपुग रकम व्यवसायीसँगबाट सहयोग सङ्कलन गरेर भए पनि बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्ने काम सुरु गरिने अध्यक्ष राजभण्डारीले जानकारी दिए । सिसी क्यामरा जडान र यसका लागि आवश्यक पूर्वाधार तयार गर्नका लागि रु ३० लाख लाग्ने अनुमान छ ।

“नवनिर्वाचित मेयरले नपुगेको रकम दिने भनेका छन् , हामीले २०० क्यामरासम्म धान्न सक्ने लागत राख्दैछौँ, उनले भने , “नाइट भिजनसमेत दिने क्यामरा जडान गर्नुपर्ने छ, तब मात्रै अपराध र चोरी नियन्त्रणका लागि सहयोगी बन्छ ।” बजारमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ सङ्घको अध्यक्ष रहेका बेला सिसी क्यामरा जडान गरिएको थियो । बढ्दो सहरीकरणसँगै समाजमा अपराध तथा चोरीका घटना बढ्दै गएको समयमा नगरलाई सुरक्षित बनाउन बजारका विभिन्न चोकमा ८५ क्यामरा जडान गर्ने योजना रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम राखेर निगरानी गरिने छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्त्रण गर्ने क्रममा बिग्रिएका र निकालिएका क्यामरा पुनः जडान हुन नसक्दा बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । सिसी क्यामराले बजार क्षेत्रमा हुने चोरी र अपराधका घटना अनुसन्धानमा सहयोगी बन्ने प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए । बजार क्षेत्र विस्तार भइरहेको बागलुङ –४ को उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा क्यामरा जडान गर्ने योजना छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्