झोलुङ्गे पुल हस्तान्तरण नहुँदै हेर्न आउनेको भीड, पर्यटकको आगमन बढ्ने विश्वास

Ad
  • कालोपाटी सम्बाददाता

दार्चुला । जगन्नाथ गाउँपालिका–५ बाजुराका विजयकुमार बमले यहाँको दुहुँ गाउँपालिकामा निर्माण भएको बञ्जीजम्पसहितको बहुउद्देश्यीय झोलुङ्गे पुलमा चारपटक आवतजावत गरी सकेका छन् । व्यापारको सिलसिलामा डेढ वर्षदेखि यहाँ रहेका बम यो पुलमा आवतजावत गर्दाको मज्जा बेग्लै भएको अनुभव सुनाउँछन् ।

कालागाड खोलामाथि वडा नं १ पीपलचौरी खर्रा र वडा नं ५ चल्लेगाडा जोड्ने गरी कूल ३७२ मिटर लम्बाइ र १९० मिटर उचाइमा यो पुल निर्माण गरिएको छ । “लामो पुल भएका कारण चिसो हावा खान र आवतजावत गर्न निकै सहज छ”, बमले भने , “यो पुलको निर्माण सुरु भएदेखि अहिलेसम्म पनि यो पुलमा हिँडिरहेको छु ।” उनी मात्र होइन् अहिले यो पुल हेर्न जिल्लाभित्रका मात्र नभई जिल्ला बाहिरका मान्छे पनि पुग्ने गरेका छन् । भारतका विभिन्न क्षेत्रबाट समेत यो पुल हेर्नकै लागि आउने गरेका दुहुँ वडा नं ५ का वडाध्यक्ष कृष्णसिंह लोथ्यालले बताए ।

पुल निर्माण पूर्णरुपमा सकिएको नभए पनि यहाँ दिनहुँ पुल हेर्न आउने मान्छेको कमी छैन । सदरमुकाम खलङ्गाबाट एक घण्टा गाडीको यात्रापछि यो पुल निर्माणस्थलमा पुगिन्छ । आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै निर्माण गरिएको पुल पूरा हुन अझै केही समय लाग्ने जनाइएको छ । “पुल निकै राम्रो बनेको रहेछ”, अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष देवकी ठेकरेले भने , “यति लामो पुल भए पनि हल्लिदैन ।” यस्तै पुल अपिहिमालका वडा नं २ र ३ जोड्ने गरी बनाउनसके राम्रो हुने उनले सुनाए । “हाम्रोमा पनि पुल निर्माणका लागि प्रक्रिया यसअघि नै बढेको छ, अपि सेतु पुल बन्यो भने स्थानीयवासीलाई आवतजावत सहज मात्र नभई पर्यटक तान्न राम्रो हुने देखिन्छ”, उनले भने ।

दुहुँको सो पुलको लोड परीक्षण भएको छैन । बञ्जीजम्पका लागि आवश्यक पूर्वाधार अझै बनाइएको छैन । गाउँपालिकाको आर्थिक सहयोग र ट्राइल ब्रीज युनिट काठमाडौँ, हेल्बटास नेपाल तथा समाज कल्याण समाजको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो । गाउँपालिकाको रु दुई करोड १७ लाख र अन्य सम्पूर्ण प्राविधिक सहयोग हेल्बटास तथा सामाज कल्याण समाजको रहेको छ । सम्भवतः देशकै दोस्रो लामो झोलुङ्गे पुल र जिल्लाकै पहिलो लामो झोलुङ्गे पुल निर्माण भएकाले पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । झोलुङ्गे पुल बञ्जीजम्पसहितको भएकाले आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गाउँपालिकाले गरेको छ । पुल निर्माण सम्पन्नपछि सो क्षेत्रका करिब चार हजार जनसङ्ख्या लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

भूगोलका हिसाबले सबैभन्दा सानो तर पर्यटकीय हिसाबले महत्वपूर्ण दुहुँ गाउँपालिका रहेको छ । साहसिक पर्यटक भित्र्याउन बम्जीजम्पसहितको झोलुङ्गे पुल निर्माणले यो क्षेत्रमा पर्यटक ह्वात्तै बढ्ने अनुमान गरिएको छ । महाकाली करिडोरअन्तर्गत निर्माणाधीन खलङ्गा–तिङ्कर सडकलाई स्तरोन्नति गर्नसके अझै यो ठाउँमा सहजै पर्यटक घुम्न आउने मार्मा–३ का खेमराज जोशी बताउनुहुन्छ । “ठाउँ निकै रमणीय छ, तर सडक सुधार नहुँदा आवतजावतमा निकै समस्या छ, सडकमा पूरै खाल्डाखुल्डी छन्, धुलाम्ये सडकमा आएर पनि पुल हे¥यौँ, तर यो सडकको सुधार आवश्यक छ”, उनले भने । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्