तिलामा राडीपाखी उद्योगले किसानलाई राहत, स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । जुम्लाको तिला गाउँपालिका– ५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत पुगेको छ । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताए ।

यहाँका भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका लागि उद्योग स्थापना गरिएको जानकारी दिँदै उनले भने , “राडीपाखी उद्योगमा केही बेरोजगार युवाले रोजगारी पाउने छन् । ऊन उत्पादन जिल्लाको एक गतिलो पहिचान बन्नेछ । यसको बजारीकरणका लागि वडा सरकारले आवश्यक सहयोग पुयाउनुपर्ने छ ।” पछिल्लो समयमा नेपालमा भेडाको उत्पादन घट्दो क्रममा रहेका अवस्थामा जिल्लामा भेडाको उत्पादन बढ्दै गएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयको एक पालिका एक पशु सेवाअन्तर्गतको कार्यक्रम हो । नौ लाख ५० हजारमा पशु अस्पताल तथा राडीपाखी उद्योग स्थापना गरिएको पशुसेवा कार्यालयले जनाएको छ । ऊनको उत्पादनबाट राडीपाखी, सुइटर, लिउ, पाखीजस्ता सामग्रीको उत्पादन हुने गरेको वडा पालिकाले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्