बाढीबाट पक्की मोटरेवल पुलमा क्षति, स्थानीय नागरिक प्रत्यक्ष प्रभावित

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । गएरातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ । पोखरा–२५ हेमजा र वडा नं १९ पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा केही तल सेती नदीमाथि बनाइएको ट्रष्ट पुलमा बाढीले क्षति पुर्याएपछि यातायात आवागमन बन्द भएको छ । जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रष्ट पुल पूर्णरुपमा क्षति भएको र सञ्चालनमा आउन नसक्ने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ ।

पुलबाट अब मानिस हिँडडुल गर्नसमेत जोखिम भएको बताइन्छ । पुलका संरचना अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको छ । सडक कार्यालयले पाँच वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र सात मिटर फराकिलो छ । पुलको पुरुनचौरपट्टीको क्षेत्रमा पिल्लरसँगैको एप्रोज दुई मिटरजति नदीले बगाएको छ । बाढीले पुलको पिल्लरसँगै मुख्य जीपमा पनि क्षति पुयाएको पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताउनुभयो । पुलको मुख्य संरचनामा बाढीले क्षति पुयाएकाले ठूलो क्षति पुगेको उनले बताए ।

पुल अवरुद्ध भएपछि साना ठूला सबै सवारीका साधन आवतजावत रोकिएको छ । सोही पुल हुँदै माछापुच्छे गाउँपालिकाका केही वडाका नागरिकसमेत पोखरा आवतजावत गर्ने गर्दछन् । यसैगरी गएरातिको सेती नदीको बाढीका कारण माछापुच्छे गाउँपालिका–२ का केही गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ । सार्दिखोलाबाट चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको स्थानीय शिक्षक सन्तोष आचार्यले बताए । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्