बैतडीमा फौजी किराले मकै सखाप, किरा मार्न विषादी उपलब्ध गराइदिन स्थानीयको अनुरोध

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो । यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो ।

कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप देखापरेको छ । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको छ । उनले भने , “जिल्लाका विभिन्न स्थानबाट किसानले फोन गरेर फौजी किराको प्रकोप देखिएको जानकारी दिने गरेका छन् । हामीले विषादी छर्किन सुझाव दिएका छौँ ।” मकैको पकेट क्षेत्रमै किराले नोक्सान गरेको छ । तीन वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको छ ।

दोगडाकेदार गाउँपालिका–२ का अधिकांश किसानले लगाएको मकै फौजी किराले सखाप पारेको स्थानीय दीपिका कार्कीले बताए । मकैबाली लगाएदेखि नै फौजी किराले क्षति पु¥याउन थालेको छ । “किराले मकै बाली नष्ट गर्न थालेपछि समस्यामा छौँ । किरा मार्न विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ”, उनले भने । दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख रामबहादुर विष्टले किराको प्रकोपबारे जानकारी आएको र वडास्तरबाटै कृषि प्राविधिक पठाउन पहल भइरहेको बताए ।

मकै बालीमा किराको प्रकोप देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत चन्दले जानकारी दिए । केन्द्रले इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । सबै बारीमा विषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने उनको भनाइ छ । बैतडीमा १३ हजार हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्