शिवनाथमा विद्युतीय भुक्तानी सेवा सुरु, अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको अन्त्य

Ad
  • कालोपाटी सम्बाददाता

बैतडीको । बैतडीको शिवनाथ गाउँपालिकाले विद्युतीय भुक्तानी सुरु गरेको छ । केस लेसको अवधारणाअन्तर्गत विद्युतीय भुक्तानी सुरु भएको गाउँपालिकाका लेखा प्रमुख देवराज सापकोटाले जानकारी दिए । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्रमार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्न सुरु गरेको हो । चेकमार्फत कारोबार झन्झटिलो हुँदै आएकोमा अब भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिनेको खातामा जम्मा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए ।

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा शिवनाथले असारमै विद्युतीय भुक्तानी सुरु गरेको हो । योसँगै शिवनाथ गाउँपालिका विद्युतीय भुक्तानी सुरु गर्ने जिल्लाको दोस्रो पालिका बनेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले यसअघि नै विद्युतीय भुक्तानी सुरु गरिसकेको छ । विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको अन्त्य हुनुका साथै पारदर्शिता र सुशासन कायम गर्न सहयोग मिल्ने शिवनाथ गाउँपालिकाका अध्ययक्ष कर्णसिंह साउँदको विश्वास रहेको छ ।

अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि नगरपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको छ । उनले भने , “विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्छ, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटोछरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरी कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने विश्वास लिएका छौँ ।” यसैबीच जिल्लाको पाटन नगरपालिकाले अनलाइबाट नगरवासीको सुझाव सङ्कलन गरेको छ । नगरपालिका घर भई काम तथा रोजगारीको सिलसिलामा जिल्ला बाहिर तथा विदेशमा रहेकाबाट नगरपालिकाले ‘भर्चुअल’ मिटिङको आयोजना गरेर सुझाव सङ्कलन गरेको हो ।

तीन दिनसम्म चलेको जुम मिटिङबाट पाटन नगरपालिकाको विकासका लागि गर्नुपर्ने कामहरुको बारेमा नगरबासीहरुबाट सुझाव सल्लाह संकलन गरिएको नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए । उनले भने “पाटन घर भई विभिन्न कामले बाहिर रहेका विज्ञ र बौद्धिक नागरिकबाट अगामी आर्थिक वर्षका लागि नगरपालिकाले ल्याउनुपर्ने कार्यक्रमका लागि सुझाव सल्लाह मागेका हौँ, बढ्दो बेरोजगारीको समस्या समाधानका गर्न, कृषिको क्षेत्रमा बजारीकरणको समस्या सामाधान, शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम सञ्चालन गर्न मिटिङमा सहभागीले सुझाएका छन् ।” नगरवासीबाट महत्वपूर्ण सुझाव आएकाले सोही अनुसार विकासका काम अघि बढ्ने नगरप्रमुख रावलले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्