महोत्तरीमा मलबिनै धान रोपाइँ गरिँदै, किसान भन्छन् -‘बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो’

Ad
  • कालोपाटी सम्बाददाता

महोत्तरी । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ ।

“बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो”, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप पहिलो बीउरोप सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउँछन् । “मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ”, उनले भने । मल नपाएकामा भने उनको दुःखेसो छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोपी सक्ने र साउन तेस्रो साताभित्र खरुवन पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने रोपाइँ सक्ने उपयुक्त समय हो ।

यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् । ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने बीउ उखेल्ने र रोप्ने काममा ब्यस्त छन् ।

जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ । यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ । समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउँछन् । कूल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्