‘नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण हो’ : सञ्चारमन्त्री कार्की

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताएका छन् । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए ।

आचारसहिंता अरुलाई लागेजसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा उनले जोड दिए । देशमा स्वतन्त्रता र सुशासन सँगसँगै अघि बढाउनुपर्नेमा मन्त्री कार्कीको भनाइ छ । उनले भने , “देश विकसित, सभ्य र सुन्दर बनाउन अनुशासन पहिलो प्राथमिकता हो ।” आचारसहिंतामा जुनजुन ठाउँमा अप्ठेरो, अस्प्रष्टता र अघि बढ्न व्यवधान छन् तिनलाई हटाउन मन्त्रालय साथमा रहेको मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे । आजदेखि लागू भएको आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उनले उल्लेख गरे । आचारसहिंता जति धेरै विचार, विमर्श, छलफलबाट ल्यायो कार्यान्वयन गर्न त्यति नै सजिलो हुने मन्त्री कार्कीको भनाइ छ ।

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आचारसहिंताले विज्ञापनको क्षेत्र थप प्रतिस्पर्धी र पारदर्शी हुने अपेक्षा व्यक्त गरे । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरिएको उल्लेख गरे । बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले आचारसहिंताले केही समयमा नै नतिजा दिने विश्वास व्यक्त गरे । मिडिया सोसाइटी नेपालका मदन लम्सालले नेपालमा कुन मिडिया हो र कुन होइन भनी नियमन आवश्यक रहेको औँल्याए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसहिंताका कारण काउन्सिललाई अनुगमन गर्न सजिलो भएको उल्लेख गरे । विज्ञापन सङ्घ नेपालका अध्यक्ष सोम धितालले विज्ञापनमा मात्रै नभएर सबैतिर रहेको बेथिति हटाउनुपर्नेमा जोड दिए । पत्रकार बबिता बस्नेतले आचारसहिंता लागू भएपछि विज्ञापनमा महिलाको शरीरभन्दा मस्तिक देखिने अपेक्षा ब्यक्त गरे । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको हो । यसअघि यससम्बन्धी छुट्टै आचारसहिंता थिएन । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्