बेगखोलामा पक्की पुल निर्माण नहुँदा मुस्ताङका यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

Ad
  • कालोपाटी सम्बाददाता

मुस्ताङ । मुस्ताङसँग यातायातमार्फत काठमाडौंलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् ।

हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार गर्न नसक्दा सवारी साधन घण्टौँसम्म रोकिनुपर्छ । बाढीले दैनिकजसो बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदलयात्रु बाटोमा अलपत्र पर्ने गरेका स्थानीय टेकसरा पुनले बताए । विसं २०७३ भदौ १६ गते रातिको बाढीले बेगखोलाको बस्तीसँगै झोलुङ्गे पुल र बेलिब्रीज बगाएको थियो ।

त्यसयता अस्थायी संरचनासमेत बन्न नसक्दा वर्षाको समयमा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका यात्रु कृष्ण शर्माले बताए । पैदलयात्राका लागि हालै सामान्य काठे पुल स्थानीयवासीले बनाएका छन् । तर सवारी साधनलाई अन्य कुनै विकल्प नहुँदा अझैसम्म जोखिम मोलेरै खोला वारपार गराउने गरेको यातायात व्यवसायी सागर पुर्जाले दुःखेसो व्यक्त गरेका छन् । -RSS

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्