दुर्गम बस्तीमा बढ्यो सडक विस्तारसँगै बजारीकरण, खाद्यन्नको जोहो गर्न हप्तौँ लगाएर हिड्नु पर्ने बाध्यताको अन्त्य

Ad
  • कालोपाटी सम्बाददाता

जाजरकोट । सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुमपश्चिमका दुर्गम बस्तीमा बजारीकरणको काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग पुष्पलाल निर्माणसँगै ती जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार भएसँगै शहरीकरण पनि भएको हो  । यातायातको पहुँच पुगेसँगै पछिल्लो समय थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, दैलेख बजार, रावतकोट, जम्मुकाँध र राकमबजार आर्थिक केन्द्रका रूपमा विकास भइरहेका छन् । त्यस्तै रुकुमपश्चिमको चौरजहारीमा नयाँ सहर निर्माणको काम जारी छ ।

पूर्वी नेपालको पाँचथर जिल्लाको चियोभन्ज्याङबाट मध्यपहाड हुँदै पश्चिम नेपालको बैतडी जिल्लाको झुलाघाटसम्म २६ पहाडी जिल्ला हुँदै निर्माणाधीन मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय विकासमा समेत योगदान दिन थालेको छ । एक हजार ८७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्गले २१५ बस्तीलाई जोडेको छ । मध्यपहाडी क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनतालाई लाभ पु¥याउने लक्ष्यका साथ आयोजना निर्माण भइरहेको छ । पहिले–पहिले नुनतेलको जोहो गर्न हप्तौँ लगाएर नेपालगञ्ज, बर्दिया झर्नुपर्ने बाध्यता थियो ।

पहाडका अप्ठ्यारा बाटा, घोप्टे भिर काट्दै बबई नदी, भेरी नदी तरेर, कट्टीको गल्छी पार गर्नुपथ्र्यो । तर त्यस्ता भिर काटेर कालोपत्र सडक आउँदा स्थानीयवासी औधी खुशी छन् । मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत सर्वाधिक लामो १२५ किलोमिटर सडकखण्ड दैलेख जिल्लाभित्र पर्दछ । दैलेखमा भगवतीमाई गाउँपालिका–४ सुयडा क्षेत्रबाट प्रवेश गरी सो जिल्लाका आठवटा पालिकालाई समेट्दै आठबीस नगरपालिका–३ बेलखेतबाट बाहिरिन्छ । स्थानीय उत्पादनले बजार पाएको छ । घरघडेरीको मूल्यसंँगै वित्तीय संस्थाहरूले लगानी पत्याउन थालेका छन् ।

रोजगारी र अवसरको खोजीमा होस् या अभावका कारण परिवारसहित हुने बसाइँसराइ निरुत्साहित गर्न पनि यो आयोजनाले ठूलो सहयोग गरेको छ । स्थानीय नागरिक रोजगारीमा जोडिएका छन् । स्थानीय पुरुषमात्र नभएर प्रत्येक घरका महिला रोजगारीमा जोडिएका छन् । रुकुमपश्चिम, जाजरकोट, दैलेख र अछामकोे बीचबाट पूर्व–पश्चिम भएर सडक निर्माण भएपछि नेपाल सरकारले तय गरेका एक सयवटा पर्यटकीय गन्तव्यको सूचीमा परेका पर्यटकीय क्षेत्रमध्ये छवटा गन्तव्यसमेत यस लोकमार्गमा जोडिएका छन् । आन्तरिक वा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको छ ।

लोहोरेखोलाबाट जाजरकोट जिल्लाको थलाहबजारसम्म ५२ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति कार्य भइरहेको छ । छवटा निर्माण कम्पनीको ठेक्का रकम कूल रु दुई अर्ब ६५ करोड रहेको आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले बताउनुभयो । पुष्पलाल लोकमार्ग योजना कार्यालय दैलेखअन्तर्गत पूर्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, दैलेख र अछाम गरी पाँच जिल्ला यस योजना कार्यालयको कार्यक्षेत्रअन्तर्गत पर्दछ । रुकुमपूर्वबाट अछामसम्म योजनाको जिम्मेवारीमा रहेको करिब ४४० किलोमिटर सडक आर्थिक वर्ष २०७९-८० मा सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई गति दिइएको बताइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्