वैकल्पिक सडक मर्मत, गोसाइँकुण्डको तीर्थबाट फर्कने यात्रुलाई यातायात व्यवस्थापनमा सहज

Ad
  • कालोपाटी सम्बाददाता

रसुवा । धारापानीदेखि तारूके हुँदै थुम्कासम्मको ग्रामीण सडक मर्मत तथा सुधार गरिएको छ । पासाङल्हामु मार्गअन्तर्गत बनुवा घुम्ती क्षेत्रमा पहिराका कारण मुख्य मार्ग बन्द भएपछि वैकल्पिकरूपमा प्रयोग गरिएको सडकलाई थप व्यवस्थित बनाइएको हो ।

करिब तीन किलोमिटर लामो साँघुरो उक्त ग्रामीण सडकलाई कालिका गाउँपालिका र सडक कार्यालयको डोजर परिचालन गर्नाका साथै बेल्चौर तथा तारूकेका बासिन्दाले सहयोग गरेका उक्त पालिकाका वडा नं ३ का अध्यक्ष फणिन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार गोसाइँकुण्डको तीर्थबाट फर्कने यात्रुलाई यातायात व्यवस्थापनमा सहज गराइएको र अब उप्रान्त मालसामान बोक्ने बाहेक अन्य सबै प्रकारका सवारीसाधन ओहरदोहर गराउन सकिने भइसकेको छ ।

सडक सुधारका लागि कविन्द्र तामाङ, शरोज तामाङ र दिनेश पौडेल एवं कुमार गजुरेल समेतको अगुवाइमा तारूके, बेलचौर क्षेत्रका ५० भन्दा बढी स्थानीय बासिन्दाले उल्लेखनीय सहयोग गरेका थिए । तल्लो धारापानी र बेतिनी गाउँको सिमानाबाट दक्षिणतर्फको गोतामे टोल, कदमघारी, तारूके बेल्चौर, थुम्कोसम्म तीन किलोमिटर ओरालो र थुम्कोबाट पश्चिम करिब पाँच किलोमिटर तेर्सो सडक पार गरेपछि आमभञ्ज्याङको पासाङल्हामु मार्गमा पुनः जोडिने बताइएको छ ।

राजमार्गको रूपमा प्रयोगमा ल्याउन लागिएको ग्रामीण सडक सुधार कार्यमा सडक कार्यालयका जिम्मेवार प्राविधिक उपस्थित नभएका कारण डोजर अप्रेटरकै विवेकले सडक सतह मिलाइएको वडा कार्यालयले जनाएको छ ।–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्