सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण, अहिलेसम्म कहाँ कति पर्यो पानी ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । विभाग अन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार कूल ७७ वटा केन्द्रको तथ्याङ्कमा सोही अवधिको सरदर वर्षा आठ सय ६८ दशमलव सात मिलिमिटर भएको छ ।

जसअनुसार साउन २६ सम्म सरदरको ९८ दशमलव नौ प्रतिशत वर्षा भएको हो । यो वर्ष सरदरभन्दा बढी मनसुनी वर्षा हुने हावापानी शाखाले आकलन गरेको छ । सरदर भन्नाले सन् १९९१ देखि २०२० सम्मको जुन १ देखि अगष्ट ११ सम्मको जम्मा वर्षाको वार्षिक औसत जनाउँदछ । हावापानी शाखाका मौसमविद् सुदर्शन हुमागाईंले मनसुन सुरु भएयता हालसम्म आठ सय ३५ दशमलव तीन मिलिमिटर अर्थात ५६ दशमलव सात प्रतिशत वर्षा भएको जानकारी दिए ।

यो वर्षको मनसुनको औसत सरदर वर्षा एक हजार चार सय ६२ मिलिमिटर हुने प्रक्षेपण गरिएको छ । उनले अझै दुई महिना वर्षा हुने भएकाले बढी वर्षा हुने आकलन गरिएको बताए । प्रदेश नं १ र बागमती प्रदेशका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा बढी वर्षा भएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका धेरैजसो भू–भागमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा यो वर्ष गत जेठ २२ गतेदेखि मनसुन प्रवेश गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि मानिन्छ । नेपालमा पूर्वी भेग भएर मनसुन भित्रिने गर्दछ । मनसुन अवधिमा एक हजार पाँच सय मिलिमिटर हाराहारी वर्षा हुने जनाइन्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले जारी मनसुनमा विशेषगरी देशका पहाडी भेगमा बढी वर्षा भएको तथा तुलनात्मकरूपमा तराई क्षेत्रमा कम वर्षा भएको बताए ।

महाशाखाको पछिल्लो विवरणमा हाल मनसुन न्यून चापीय रेखा नेपालको तराई पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्