उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाचको अवलोकन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गरेका छन् । आइतबार बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो ।

लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुगेका उनीलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गरेका थिए । सो अवसरमा उपराष्ट्रपति पुनले बालकुमारी मन्दिरको डबलीमा ऐतिहासिक भैरव नाचको अवलोकन गरी लायकू भैलः नाचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा जानकारी लिएका थिए ।

तान्त्रिक विधि र शक्तिअनुसार सञ्चालन गरिने मल्लकालीन लायकू भैलः नाच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरी पुनः लायकू, दुईपोखरी, दिगु भैरवसम्म परिक्रमा गरी पुनः लायकू दरबारमा पुयाइन्छ । उपराष्ट्रपति पुनलाई भैरव नाचका गुरु अर्जुन श्रेष्ठले टीका तथा प्रसाद र निरञ्जन श्रेष्ठले फूलमालाका साथ प्रसाद प्रदान गरेका थिए ।

सोही अवसरमा उनलाई नगर प्रमुख श्रेष्ठले भैरव नाचको तस्वीर र नाच गुरु अर्जुन श्रेष्ठले भैरवको मुखुण्डो प्रदान गरे । भैरव दुई, दायगी दुई, ज्यापुगचा एक गरी पाँच देवगण हुने नाच गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितीया गुंलागा द्वितीया देखि चार रात यही साउन ३१ गते पञ्चमीसम्म मनाइने नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक एवं गुरु अर्जुनले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्