विराटनगरमा आइतबारदेखि मल बिक्री वितरण, सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आइतबारदेखि मल बिक्री वितरण सुरु गरेको छ । कार्यालय प्रमुख नरेशकुमार सापकोटाका अनुसार कम्पनीमा सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहेपनि उपलब्धताको आधारमा आजदेखि सहकारीमार्फत वितरण कार्य सुरु भएको हो ।

कम्पनीले युरिया वितरण गर्ने सम्बन्धमा सहकारीलाई एक महिनादेखिपत्र पठाएको उनले बताए । कम्पनीले यसअघि पोटास तथा डिएपी मल बिक्री वितरण गरेको थियो । कम्पनीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्ने गरेको छ ।

कम्पनीले विराटनगरसहित शाखा कार्यालय गाईघाट, धनकुटा, इटहरी, विर्तामोड र इलाममार्फत मल बिक्री वितरण थालेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताए । प्रदेशमा किसानलाई वार्षिक रुपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन आवश्यक रहेको छ । कम्पनीले ५० किलो युरिया रु ७५०, डिएपी रु दुई हजार २०० र पोटास रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ ।–रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्