सालझण्डी–ढोरपाटन सडकखण्डलाई कालोपत्र गर्न पूर्वमन्त्री झाँक्रीको पहलकदमी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची सडक खण्डको लागि ५२ करोड र गुल्मी –बाग्लुङ खण्डको सौतामारे पुर्कोट गगरे खण्ड सडक कालोपत्र गर्नको लागि एक अर्ब ८५ करोड स्रोत सुनिश्चितता र बहुवर्षिय योजना स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाउन विशेष पहल गरेका छन् ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारीसँग भेटेर सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची र गुल्मी–बाग्लुङ खण्डको सौतामारे पुर्कोट गअरे खण्ड सडक कालोपत्र गर्न स्रोत सुनिश्चितता र बहुवर्षिय योजना स्वीकृत गरी खरिद प्रक्रिया अगाडी बढाउन स्वीकृतीका लागि अर्थ मन्त्रालय पठाउन आग्रह गरेका हुन् ।

राष्ट्रिय योजना आयोगले बीस करोड भन्दा माथिका योजना बहुवर्षिय योजना स्वीकृत गरी अर्थ मन्त्रालय पठाउने योजनाको बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड २०७८ मा व्यवस्था गरिएको छ । आयोजना अन्तर्गतको गुल्मीस्थित सौतामारेदेखि पुर्कोट दह म्यालपोखरी, सिर्सेनी, अर्खाबाङ हुँदै गगरेसम्मको सडक कालोपत्रे गर्नको लागि एक अर्ब ८५ करोड रकम स्रोत सुनिश्चित गरी वहुवर्षिय योजना स्वीकृत हुँदा बित्तिकै यसको खरिद प्रक्रिया तत्काल अगाडि बढाईने छ ।

लामो समयदेखि यो आयोजना यत्तिकै अलपत्र परेको थियो । यसअघि केही शक्तिशाली भनिएका व्यक्तिले आफ्नो राजनीतिक दुनो सोझ्याउन गरेको खिचातानीले सडकको अलाईनमेन्ट परिवर्तन गरी पुर्कोटको पश्चिम बेल्टलाई दुर्गम नै राख्ने गलत प्रयास भएका थिए । जसकारण प्राप्त बजेट विनियोजन नहुने र भएको बजेट पनि काम नभएर फ्रिज हुने कारणले गर्दा समेत काम रोकिँदै आएको थियो ।

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी पूर्वमन्त्री झाँक्रीले सडक कालोपत्रे गर्दा सो क्षेत्रका जनतालाई आवत जावतमा सुगम हुने मात्र होईन ढुवानी समेत सस्तो भई राहत पुग्ने बताईन् । गुल्मी र अर्घाखाँची जिल्लाको लाइफ लाइनका रूपमा रहेको सो सडक निर्माणको काममा ढिलाइ गर्न नहुने कुरामा उनको जोड थियो । छलफलका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आफूहरूको तर्फबाट तत्काल बजेट निकासा र बहुवर्षिय ठेक्का लागि ढिलाइ नहुने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्