मनाङमा हाइब्रिड स्याउबाट मनग्य आम्दानी, स्याउ खेतीतर्फ किसान आकर्षित

Ad
  • कालोपाटी सम्बाददाता

मनाङ । हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए ।

रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी पनि वृद्धि हुने भएकाले हाइब्रिड स्याउ लगाएको छु । उत्पादन राम्रो छ । बजारमा पुयाउन भने सडकका कारण समस्या छ,’ उनले भने । रैथाने प्रजातिका स्याउका बिरुवा लगाएको चार-पाँच वर्षसम्म हुर्किन समय लाग्ने गरेको उनले बताए । ‘हाइब्रिड प्रजातिको स्याउको बिरुवा लगाएकै वर्षमा उत्पादन सुरु हुन्छ,’ उनले भने, ‘यसले गर्दा लगाएकै वर्षदेखि आम्दानी हुने भएकाले पनि यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।’

यहाँ उत्पादित स्याउ टिपेर भदौको पहिलो साताबाट बजारमा पुयाउन सकिने उनले बताए । माथिल्लो मनाङ, दानाक्यु, चामे, ताचैलगायत मनाङका विभिन्न स्थानमा उत्पादित स्याउ बजारमा पुयाउने बेला भएको छ । विगतमा रैथाने स्याउ उत्पादन, कृषि तथा पशुपक्षी पालनमा सीमित रहेका मनाङवासी अहिले हाइब्रिड स्याउ खेती गरी आय वृद्धि गर्न थालेका छन् । कमै मात्रामा रैथाने स्याउको खेती गर्दै आएका छन् ।

सहज रुपमा यहाँको स्याउ बजारमा पुयाउन सके विदेशी स्याउको उपभोगमा कमी आउने उनहरुको भनाइ छ । सडक सञ्जाल सहज नहुँदा यहाँका स्याउ फार्ममै कुहिएर खेर गएको अवस्थामा नेपालका हरेक क्षेत्रका बजारमा विदेशी स्याउ बिक्री वितरण हुने गरेको छ । सडक सञ्जाल सहज बनाएर बजारमा पुयाउन सके स्याउको मूल्यसमेत कम पर्ने किसानको भनाइ छ । नेपालकै सबैभन्दा ठूलो स्याउ फार्म पनि मनाङमै छ । तर, सडक यातायातको समस्याले बजारसम्म पुयाउन महँगो मूल्य तिर्नुपर्ने गरेको दानाक्यु स्याउ फार्मले जनाएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्