चुनबाङमा ३२.३५ मेट्रिकटन लसुन उत्पादन, उचित मूल्य नपाएको किसानको गुनासो

Ad
  • कालोपाटी सम्बाददाता

रुकुम(पूर्व) । भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् ।

अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु. ५० देखि ६० पर्छ । चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो र ५० मा लसुन बिक्री गर्दा दुःख नउठ्ने भन्दै प्रतिकिलो रु. एक सयका दरले बिक्री गर्न चाहन्छन् । किलोलाई रु. एक सय दिएर कसैले लसुन खरिद नगरेपछि अहिले चुनबाङको लसुन घरघरमा थुप्रिएको च्याङचुङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए ।

अहिले आफ्नो मात्रै १० क्विन्टलको हारहारीमा लसुन रहेको उनले बताए । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेका उनले अहिले भने उत्पादन घटेको बताए। केहीको लसुन उत्पादन गत वर्षको तुलनामा अहिले घटे पनि समग्रमा भने गत वर्षको तुलनामा यसवर्ष उत्पादन बढेको छ । अहिले उचित मूल्य नपाएकै कारण कति पनि लसुन बिक्री नभएको किसान खड्काले बताए ।

उनका अनुसार अहिले चुनबाङका प्रत्येक घरमा तीनदेखि १० क्विन्टलको हारहारीमा लसुन छ । लसुनले उचित मूल्य र बजार नपाएको भन्दै उनले अर्को वर्ष लसुन लगाउने क्षेत्र घटाएर मोटो कला लगाउने योजना बनाएको समेत सुनाए । यस्तै चुनवाङकै स्थानीय एवं पूर्व वडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको बताउँदै बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए ।

बजार मूल्यभन्दा महँगो हाले लसुन सङ्कलन गर्न भने नसकिने उनको भनाइ । यसवर्ष चुनबाङमा चार सय ३२ दशमलव ३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए । उनका अनुसार यो उत्पादन गत वर्षको तुलनामा १२ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । अहिले जिल्लाको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुनखेती हुँदै आएको छ । -RSS

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्