दोबामा बालीको मूल्य र ज्याला निर्धारण, के-को भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ । वडा भेलामार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडासचिव मनकुमार गर्बुजाले वडा भेला गरेर मूल्य र ज्याला निर्धारण गरिएको जानकारी दिए ।

बालीको मूल्य र कामदारको ज्यालामा एकरुपता कायम गर्न भेलामार्फत निर्धारण गरिएको हो । हरेक वर्ष गाउँका अगुवाको भेला गरेर मूल्य र ज्याला निर्धारण गर्ने गरिएको छ । कोदो रु दुई सय ५०, मकै रु एक सय ७०, फापर रु तीन सय, सिमी तथा अन्य गेडागुडी रु सात सय, भटमास रु छ सय, आलु रु एक सय ८० प्रतिपाथीका दरले मूल्य निर्धारण गरिएको छ ।

दूध, दही, मोही, भैँसी र गाईको घ्यू, घर–भिर मह, रक्सी र जाँडको पनि मूल्य तोकिएको छ । यसैगरी बाउसे, दाउरा काट्ने र बोक्नेलाई रु सात सय, डकर्मी रु सात सय ५०, सिकर्मी रु नौ सय, गोरु हलीसहित सबै रु एक हजार ५००, प्लास्टर तथा ढलान रु आठ सय प्रतिव्यक्ति, प्रतिदिन खाजासहितको ज्याला कायम गरिएको छ ।

यसैगरी मेसिनमार्फत दाउरा र घाँस काट्ने रु सात सय, मिनीट्रिलरमार्फत खेत जोत्ने रु सात सय ५० प्रतिघण्टा, मेसिनमार्फत काठ काटेको रु १८, जङ्गे आरामार्फत छ फुटसम्म काठ काटेको रु २१ र छ फुटभन्दा बढी काठ काटेको प्रतिइन्च रु २४ मूल्य तोकिएको वडा कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । करिब तीन सय घरधुरीको बसोबास रहेको दोवामा हरेक वर्ष गाउँसभा बस्ने गर्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्