‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक छ’ : गृहमन्त्री खाण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अपराधको स्वरुप र प्रवृत्तिमा आएको परिवर्तनले थपिएको जटिलताप्रति सरकारको ध्यान गएको बताएका छन् । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित ‘उपत्यका अपराध अनुसन्धान समीक्षा गोेष्ठी’को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा कहिलेकाहीँ ओझेल हुने भएकाले त्यसतर्फ सतर्कता अपनाउनु जरुरी रहेको औँल्याएका छन् ।

‘अपराधका सङ्ख्या पनि बढिरहेको छ, अपराधको स्वरुप र प्रवृत्तिमा पनि ठूलो परिवर्तन आइरहेको छ, नयाँ प्रविधि विज्ञानका कारणले अपराध नियन्त्रणमा केही सहजता भएको छ तथापि त्यसले अपराधमा वृद्धि हुँदा थप जटिलता पनि थपिरहेको छ, यसतर्फ राज्यको ध्यान गएको छ’, उनले भने । नागरिकको जीवनरक्षा, उसको सम्पत्ति र धनको रक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै गृहमन्त्री खाणले यस सन्दर्भमा सुरक्षा निकायलाई सबल, सुदृढ, क्षमता अभिवृद्धिका साथै स्रोत साधन अभिवृद्धि गर्नु जरुरी रहेको बताए ।

त्यसप्रति सरकार प्रतिबद्धतापूर्वक लागिरहेको उनले बताए । अपराधको सङ्ख्या कसरी घटनाउने, नियन्त्रण कसरी गर्ने त्यसका लागि नेपाल प्रहरीले सीमित स्रोत र साधनका बाबजुद पनि प्रतिबद्धतापूर्वक जुन भूमिका निर्वाह गरिरहेको उनले बताए । उनले कोभिड महामारीको बेलामा नेपालका चिकित्सक, सरसफाइकर्मी, सुरक्षा निकायले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।

जनताको जीउधनको रक्षा, मुलुक र समाजमा शान्ति सुव्यवस्था सरकरको लक्ष्य रहेकाले र त्यसतर्फ दृढता र प्रतिबद्धताका साथ लाग्न उनले सुरक्षा निकायलाई आग्रह गरे । सुरक्षा निकायलमा साधन र स्रोतको अभाव रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले साधन स्रोत थप्ने, बन्दोबस्तीका सामान व्यवस्थापन गर्ने र सुरक्षा निकायको सक्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री खाणले अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक भएको बताए ।

उनले पूर्ववर्ती सरकारले केही दलसँग गरेको सम्झौता कार्यान्वयनमा सरकार  प्रतिबद्ध रहेको बताएका छन् । यसप्रति गृह प्रशासन र महान्यायाधिवक्ताको कार्यालयबाट आवश्यक सहयोग र समन्वय भइरहेको उनले  बताए । उनले सहमति कार्यान्यनमा सरकार गम्भीर, प्रयत्नरत र इमान्दार रहेको स्ष्पष्ट पारे । उनले केही संवैधानिक र कानुनी जटिलता रहेकाले त्यसलाई सम्बोधन गर्दै सबैलाई निर्वाचनमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

एउटा सरकारले प्रारम्भ गरेको प्रयत्न सकार बदलिए पनि जनतालाई प्रभाव पार्ने विषयमा त्यसलाई सरकारले निरन्तरता दिने पनि गृहमन्त्री खाणले बताए । शान्ति प्रक्रियालाई पूर्णता दिँदै मुलुकलाई अघि बढाउन र सबैलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन सरकारको सधैँ प्रयत्न रहिरहने उनको भनाइ थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्