बाँकेको नरैनापुरमा कोशेबालीको खेती गर्न सुझाव, यस्तो छ कारण !

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाइँ नभएपछि कृषि वैज्ञानिकसहितको टोलीले कोशेबालीको खेती गर्न किसानलाई सुझाव दिएको छ । गहुँखेती अगावै कोशेबाली सम्भव भएकाले धानखेती नभएको सो स्थानमा त्यस्तो बाली लगाउन सुझाव दिइएको हो ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा मासखेती गर्न किसानलाई सुझाव दिइएको छ । ‘उक्त बालीका लागि चिस्यान मात्रै भए पुग्छ’, उनले भने, ‘यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बालीअर्थात् तोरी खेती र मकै उत्पादन गरेर त्यसलाई साइलेज बनाउन सकिन्छ ।’  किसानलाई यसबाहेक नगदे बालीको रुपमा बन्दा गोभी नामक तरकारी खेतीसमेत गर्न सुझाव दिइएको छ ।

‘यसबाट किसानले थोरै भए पनि राहत पाउँछन्’, ढकालले भने । पानी नपरेपछि किसानले केही ठाँउमा रोपेको अधिकांश धानको बीउ मर्न लागेपछि नरैनापुर गाउँपालिकाले उक्त क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको थियो । सो सुक्खा क्षेत्रमा वास्तविक अवस्थाबारे बुझ्न कृषि अनुसन्धान निर्देशनालय, खजुराका कृषि वैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकाल, बागवानी अधिकृत रामप्रसाद यादव र किसान–२, परियोजनाका टुकनारायण अर्यालसहितको टोलीले स्थलगत अवलोकन गरेका थिए ।

बाँकेको उक्त दुर्गम गाउँपालिकामा अधिकांशको जीविकोपार्जन मुख्य आधार खेतीपाती मानिन्छ । नरैनापुरमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । यस वर्ष त्यहाँ १५ प्रतिशतमात्रै रोपाइँ भएको छ । रोपाइँ भएकोमध्ये आधाजसो धान पानी नपाएर मर्ने अवस्थामा पुगेको छ । पालिकामा दुई सय ६० हेक्टरमा सिँचाइ हुन्छ तर पानीको स्रोतसमेत सुकेकाले समस्या भएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्