वृद्धाश्रमका आमालाई तीजले झन बढाउँछ घर–माइतीको सम्झना

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । तीज आउन एक महिनाअघिदेखि गाउँघरदेखि सहरसम्म दर खाँदै रमाइलो गरिरहेका छन् आमा दिदी बहिनी । नारायगढ बजार आसपासका सहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रम धुमधाम चलिरहेका बेला नजिकै रहेको देवघाटधामको वृद्धाश्रममा रहेका आमा भने तीज सम्झेर मात्रै बसिरहेका छन् । अरु समयमा भन्दा ती आमाहरुलाई तीजले निरास बनाउने गर्छ ।

तीजमा घरमा चेलिबेटी बोलाएर रमाइलो गरेको र आफैँ पनि माइत गएको स्मरण उनीहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगत सम्झँदै उनीहरुलाई थप भावुक बनाउने गर्दछ । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र वृद्धाश्रममा आश्रित भइरहेकी मकवानपुर भीमफेदीकी ८८ वर्षीया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वका बेला बढी पोल्ने गरेको दुखेसो गरे ।

उनले भने, ‘दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो’, पहिले पहिले छोरी र इष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उनले भने, ‘अहिले त मलाई तीज सुन्दा पनि नरमाइलो लाग्छ ।’ कान सुने पनि आँखा नदेख्ने भएकाले संसार अँध्यारो भए जस्तै लाग्ने उनको भनाइ छ । दुखेसो गर्दै पुडासैनीले भने, ‘अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।’

एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उनले वृद्धाश्रममा आइपुगेका हुन् । छोरी र नातिनातिनाले भेट्ने त कुरै छोडौँ फोनसमेत नगर्ने दुखेसो उनको छ । सोही वृद्धाश्रममा रहेकी सिन्धुलीकी ७२ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्व आउँदा निरास भएर यही बसिरहेका छन् । उनले विगतको स्मरण गर्दै भने, ‘हाम्रो जातिले तीज नमनाउने भए पनि रमाइलो हेर्न गइन्थ्यो ।’

खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उनले अहिले कारागारमा बसेजस्तै भएको गुनासो गरेका छन् । उनले थपे , ‘अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाइलो लाग्छ ।’ श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिँदै वृद्धाश्रम आइपुगेकी श्रेष्ठ तीजसँगै पर्व आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताउँछन् । उनले भने, ‘यहाँ जे छ, त्यसैमा रमाउनुबाहेक केही छैन ।’

लमजुङकी ७१ वर्षीया शान्ति घिमिरे श्रीमान्सँगै आश्रममा बस्दै आएका छन् । सन्तान नभएका उनीहरुको बुढेसकालसँगै वृद्धाश्रममा बितिरहेको छ । उनले भने, ‘हरेराम भन्दै भगवान्को नाम जपेर चाडपर्व मनाउँछौँ । आफन्त कोही छैनन्’, उनले थपे, ‘तीजमा रमाइलो गर्ने र रमाइलो हेर्ने हाम्रा दिन गए ।’ पाल्ने मान्छे नभएर वृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उनको भनाइ छ ।

सँगसँगै रहेका एकअर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उनीहरु बताउँछन् । पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहेका छन् । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उनि यहाँ छन् । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहीन भएर यहाँ आइपुगेका हुन् । उनले गहँभरि आँसु पारेर भने , ‘तीज भन्नेबित्तिकै आमा, आफन्तलाई सम्झना हुन्छ’, उनले थपे ‘अब त मीठोचोखो खान पनि स्वास्थ्यले साथ दिदैन, चाडपर्व नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।’

वृद्धाश्रममा ३३ वृद्धवृद्धा छन् । सरकारले सञ्चालन गरेको भए पनि वृद्धाश्रममा रहेकालाई वर्षभरि नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडा दिने गरेका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे पर्वका अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउँछन् ।

उनले भने, ‘वृद्धवृद्धाको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौँ ।’ यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माइतीको सम्झना भने आई नै रहने गरेको उनको भनाइ छ । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्