प्रतिनिधिसभा : विदेशमा बस्ने नेपालीले भोट हाल्न पाउने अधिकारको सुनिश्चितता गर्ने सांसदहरुको माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । सभाको सोमबारको बैठकको शून्य समयमा सांसद दुर्गाकुमारी विश्वकर्माले बोल्दै विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउनुपर्छ, सरकारले त्यसको व्यवस्था गर्नुपर्छ, साथै देशभित्रै पनि कतिपय नागरिक मत हाल्नबाट बञ्चित भएका छन् त्यसको उचित व्यवस्थापन गर्नुपर्छ सरकारले ।’ सांसद डा डिला सङ्ग्रौला पन्तले महिला प्रत्यक्ष निर्वाचन लड्न सक्षम भएको भन्दै राजनीतिक दलले महिलालाई निर्वाचनका लागि टिकटको व्यवस्था गर्नुपर्ने माग गरे ।

सांसद दीलकुमारीले नागरिकताका विषयलाई जतिसक्दो चाँडो टुङ्गो लगाउनुपर्नेमा जोड दिएका छन् । सांसद प्रेम सुवालले त्रिभुवन विश्वविद्यालयमा तीन वर्षयता तीन सय दिन तालाबन्दी भएको उल्लेख गर्दै समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराएका छन् । उनले निर्वाचन घोषणा भइसकेपछि पनि संसद् सञ्चालन गर्न नहुने भन्दै संसद्को अन्त्य गरिनुपर्ने माग गरेका छन् ।

सांसद डा विजय सुब्बाले साझा प्रकाशनलाई व्यवस्थित गर्दै अगाडि बढाउनेबारे सरकारको ध्यानाकर्षण गराए । सांसद डा पुष्पाकुमारी कर्ण कायस्त, पार्वता डिसी चौधरी, नवराज सिलवाल, दलबहादुर राना, दिव्यमणि राज भण्डारीले महँगी र भष्टाचारलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्