उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिने, पर्यटकको आगमनमा वृद्धि हुने विश्वास

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने सम्बन्धमा सरोकार भएका पक्षसँग परामर्श गरेका छन् । काठमाडौं , भक्तपुर र ललितपुुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले सरोकारवालासँग छलफल गरेका हुन् ।

मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदायात्राले पर्यटकको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गरेका छन् । उनले रात्रिकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्दत पुग्ने बताएका छन् ।

सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउनेछन् । पर्यटन व्यवसायी र स्थानीय बासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिने जनाइएको छ ।

ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीको भनाइ छ । छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय सङ्घसंस्थाका प्रतिनिधि सहभागी भएका थिए । दिवाकालीनका साथै रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्न लागिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

सम्पदायात्राले स्थानीय बासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुग्नेछ । रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्न सम्पदा क्षेत्र उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताएका छन् । मन्त्री श्रेष्ठले आफ्नो पर्यटन पुरुत्थान कार्ययोजनामा पनि उपत्यकामा रात्रिकालीन सम्पदायात्रा सञ्चालन गर्ने उल्लेख गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्