एमाले उपमहासचिव गुरुङ लमजुङ प्रदेश (ख) बाट सिफारिस

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस भएका छन् । नेकपा (एमाले) लमजुङको आज बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो ।

उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहेका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार बनेका गुरुङ प्रदेश सदस्यमा निर्वाचित भएका थिए । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गरेका थिए ।

क्षेत्र (क) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश कमिटीका सचिव एवं प्रदेशसभा सदस्य धनञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस गरेको छ । यसअघि प्रदेश (क) बाटै दवाडी निर्वाचित भएका थिए ।

एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ एमालेबाट केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले र जिल्ला पार्टी सचिव सुभास पौडेलको नाम सिफारिस भएको छ । वि.सं. २०७० मा लमजुङ क्षेत्र नं १ बाट नेपाली कांग्रेस लमजुङका नेता डा टकराज गुरुङलाई हराउँदै घले संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य टुकाभद्र हमाल, कल्पना थापा, प्रेमबहादुर दुराको नाम सिफारिस भएको छ । प्रदेश (क) र (ख) मा समानुपातिकतर्फ– प्रेमबहादुर घले, मोहनहरि पौडेल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगरको नाम सिफारिस गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्