अझै भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ ।

सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौँ निम्न वर्गीय व्यापार सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले भने, “ खुला बजारमा दशैँका लागि किनमेल गर्नेको चहल पहल छैन । विभिन्न अवरोह पार गर्दै अहिले परिवार पाल्न सक्ने अवस्थामा व्यापारी छन् । व्यापारी उत्साहित नै छन् ।”

दैनिक २० देखि ३० हजार ग्राहक आउने बजारमा विशेषगरी दशैँ आउन १५ दिन बाँकी हुँदामात्रै व्यापार सुरु हुने उनको तर्क छ । गत दुई वर्ष कोरानाका कारण खासै धेरै चहलपहल नभए पनि यस वर्षको दशैँमा व्यापार हुनेमा उनी ढुक्क छन् ।

पछिल्लो वर्ष हरेक सामानको मूल्यवृद्धि भएको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले कच्चा पदार्थको मूल्य बढ्नुको असर सामानमा परेको स्पष्ट पारे । उनले भने “ सवारीसाधन पार्किङस्थल नहुँदा व्यापारमा असर परेको छ । बजारमा शौचालय अपुग छ । ”

काठमाडौँको पुरानो खुद्रा बजारका रूपमा परिचित सो खुला बजारका अधिकांश व्यवसायी उपत्यका बाहिरका छन् । साना व्यवसायीले थोरै पूँजीबाट जीविकोपार्जन गर्दै आएका छन् । विगत तीन वर्ष कोरोना महामारीले गर्दा व्यापार नभए पनि अहिले भने व्यापारले गति लिएको १२ वर्षदेखि कपडा व्यवसाय गर्दै आएका सूर्य पौडेलले बताए । “व्यापार नभएर कोरोनाकालमा परिवार पाल्नै मुस्किल थियो, अहिले भने व्यापारले गति लिएको छ ।” उनले भने , “अब चाडबाड नजिक आए व्यापार धेरै हुनेमा उत्साहित छौँ ।”

पछिल्लो वर्षमा चीनबाट सामान आयात नहुँदा पनि व्यवसायमा खासै असर नपरेको व्यवसायीहरू बताउँछन् । अहिले नेपालमै उत्पादन भएका कपडा ग्राहकलाई बिक्री गरिरहेको र ग्राहकले मन पराइरहेको पनि व्यारीकोे भनाइ छ । कपडादेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइने खुला बजारमा एक हजार २ सय ६५ ‘स्टल’ छन् भने अधिकांश व्यापारीले दुई स्टल प्रयोग गर्दै आएका छन् । बजारभित्र आठ सय ४४ पसल सञ्चालनमा रहँदा ३० देखि ३५ हजार परिवार बजारमा आश्रित छन् । स्टल भाडासँगै व्यवसायीले सरसफाइ, बिजुली र सुरक्षाको पैसा पनि तिर्नुपर्छ । बजारभित्र कपडा, जुत्ताचप्पल, कस्मेटिक, भाँडाकुँडा, खेलौना, झोला, रेडिमेड कपडालगायतका व्यवसाय सञ्चालनमा छन् ।

लामो समय कोरोना महामारीले भृकुटीमण्डप बजार पनि सुनसान बनेको थियो । व्यवसायीको राहतका लागि समाज कल्याण परिषद्ले एक महिनाको भाडा पनि छुट दिएको थियो । व्यवसायीले प्रत्येक महिनाको स्टल भाडा समाज कल्याण परिषद्लाई र हरेक वर्ष काठमाडौँ महानगरपालिकालाई कर तिर्दै आएका छन् । महानगरलाई प्रत्येक व्यापारीले रु तीन हजार आठ सयदेखि सात हजार पाँच सयसम्म कर तिर्दै आएको उपाध्यक्ष पौडेलले जानकारी दिए । उनले भने ,“हाम्रो बजारमा कुनै पनि बेरुजु छैन, हरेक महिनाको १५ गतेभित्र भाडा समाज कल्याण परिषद्लाई तिर्दै आएका छौँ ।”

मध्यम तथा निम्न वर्गले किनमेल गर्ने बजारलाई थप व्यवस्थित गर्न २४सै घण्टा सुरक्षागार्ड पनि खटाइएको छ । सुरक्षागार्डलाई पनि निम्न वर्गीय व्यवसायीले नै तलब सुविधा दिँदै आएका छन् ।

परिषद्ले बजारलाई सुन्दर र व्यवस्थित गर्न सेमी परमानेन्ट ९ढलानसहितको जस्तापाताले छाउने० यसअघि नै निर्णय गरिसकेको छ । तर कामले भने अझै गति लिन सकेको छैन । बजारलाई सेमी परमानेन्ट गर्न सुरु गरेर उद्घाटनसमेत गरिएको भए पनि अर्थाभावले काम अघि बढ्न नसकेको परिषद्का प्रशासन प्रमुख तथा सूचना अधिकारी सञ्जयकुमार मल्लिकले जानकारी दिए । “पालमुनि लामो समय बस्दा कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था हेरेर परिषद्ले स्टल बनाउने विगतमा नै निर्णय गरिसकेको छ, त्यसको उद्घाटनसमेत भइसकेको छ”, उनले भने । अब नीति तथा कार्यक्रमअन्तर्गत बजेट भए काम अघि बढाउने परिषद्को योजना रहेको उनले बताए ।

सूचना अधिकारी मल्लिकले बजारमा ढल व्यवस्थापन अहिलेको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै तत्काल बजारको व्यवस्थापन गर्न तीन–चारवटा परिषद्ले योजना बनाएको सुनाए । उनले भने , “सिसीक्यामेरा लगाउने, सुरक्षामा सहयोग, पानीको निकास र सरसफाइमा ध्यान दिने भनेर अहिले व्यवस्थापनमा लागेका छौँ ।” अहिले भएका शौचालय पर्याप्त नभए पनि व्यवस्थित गर्न सके थप प्रभावकारी हुने उनको तर्क थियो । “शौचालय अपुग छैनन्, बजार बाहिर पनि र भित्र पनि छन्, त्यसलाई व्यवस्थित गरेमात्र हुन्छ थप गर्नुपर्दैन”,उनले भने ।

गुणस्तरीय सामान, सरल र सुपथ मूल्यमा सामान पाइने भएकाले भृकुटीमण्डपमा विगत १० वर्षदेखि किनमेल गर्ने गरेको उपभोक्ता नेत्रप्रसाद सापकोटाले बताए । भृकुटीमण्डप बजारमा अन्य स्थानमा भन्दा निकै सस्तो सामान पाइने उनको भनाइ थियो । उनले भने, “ठूला चाडपर्वमा आवश्यक सामान यहीबाट किनमेल गर्छु, मसहित सबै परिवारलाई आवश्यक सामान यहीबाट किन्छौँ । बाहिर महँगी बढेको महसुस हुन्छ तर यहाँ किन्दा त्यस्तो लाग्दैन ।”

पन्ध्र वर्षदेखि कपडा व्यवसाय गर्दै आएका व्यवसायी शिव धमलाले भर्खरैमात्र तीज, कुशेऔँसीजस्ता चाड सकिएको जनाउँदै दशैँको व्यापार सुरु नभएको बताए । उनले भने, “अहिले सुनसानजस्तै छ, दशैँका ग्राहक बढेका छैनन् ।”

नेपालमै उत्पादन भएका चिनियाँ र नेपाली सामान बिक्री गर्ने गरेको बताउँदै उनले पछिल्लो समय धेरैजसो नेपाली सामान नै बढी बिक्री भइरहेको जानकारी दिए । उनले कपडामा मात्रै ४० प्रतिशतले महँगी बढेको सुनाए । कपडामा बढेको महँगीले सधैँ आउने ग्राहक भड्किन खोज्ने भन्दै उनीहरूलाई सम्झाउन समय खर्चिनु परेकोसमेत उनले गुनासो पोखे ।

उनले भृकुटीमण्डप बजारमा आफूले दिनसक्ने मूल्यमा कपडा पाउने भएकाले विगत पाँच वर्षदेखि किनमेल गर्न आउने गरेको धनगढीकी जेनी ओझाले बताए । स्नातक दोस्रो वर्षमा अध्ययनरत उनले भने , “यहाँ हामीले भनेकै मूल्यमा सामान पाउँछौँ । यहाँका कपडाको गुणस्तर पनि आजसम्म राम्रै छ, अब दशैँमा किनमेल गर्न पनि यतै आउने हो ।”

अर्का व्यवसायी विकास थापाले गत दुई वर्ष खासै व्यापार गर्न नपाए पनि यस वर्षको दशैँले भने उत्साह थप्नेमा आफू आशावादी रहेको बताए । उनले नेपाली उत्पादन बिक्री गर्न पाएकामा खुसी व्यक्त गर्दै धेरैजसो भृकुटीमण्डप बजारमा विद्यार्थी युवा–युवती किनमेलका लागि आउने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्