कञ्चनपुरका घरबासमा आउन थाले पाहुना

Ad
  • कालोपाटी सम्बाददाता

पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरबास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताए  ।

कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्”, उनले भने , “अहिले त अग्रिम बुकिङ हुने गरेका छन् ।” उनले  अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ घरबास हुने गरेको बताए  । “होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्”, उनले  भने , “अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन् ।”

अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताए  । “कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्”, उनले  भने , “पाहुना आउने समय पनि यही हो ।” विशेषगरी चाडपर्वको बेला र फागनुमा पाहुनाहरू बढी आउने गरेको उनले  बताए  ।

पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताए  । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताए  । “राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ”, उनले  भने , “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन् ।”

घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताए  । “यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौँ”, उउनले  भने , “यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ ।”

पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार विसं २०७५ मा दुई सय ६६ विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन् । त्यसैगरी विसं २०७६ मा सार्क मुलुकका तीन सय आठ जनाले भ्रमण गरेका छन् भने तीन सय ५० विदेशीले भ्रमण गरेका छन् । विसं २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए  । “शुक्लाफाँटाको फाँटमा देखिने बाह्रसिङ्गाको झुण्ड पर्यटकको आकर्षण हो”, उनले  भने , “यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ ।” शुक्लाफाँटा छेउमै रहेको रानाथारू समुदायको घरबासमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा रानाथारू नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्