महोत्तरीमा निर्वाचन तयारी पूरा

Ad
  • कालोपाटी सम्बाददाता

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कर्मचारी व्यवस्थापनको काम जिल्लामा सकिएको छ । जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रका लागि चार हजार पाँच जना जनशक्ति परिचालन गरिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको हो ।

जिल्लाका दुई सय ५८ मतदानस्थलका चार सय ९९ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रसहित पाँच सय एकवटै केन्द्रका लागि मतदान अधिकृतसहितका आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले भने , “अब धमाधम खटिएका कर्मचारीलाई अभिमुखीकरण तालिम दिएर नियुक्ति दिँदै सम्बन्धित केन्द्रमा पठाइँदै गरिएको छ ।” जिल्लाका चार प्रतिनिधिसभा क्षेत्रमध्ये तीनवटाको तालिम सम्पन्न भएको र एक क्षेत्रको आज आइतबार सकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाभरिमा तोकिएका मतदान केन्द्र र दुई अस्थायी केन्द्र (सैनिक ब्यारेक र कारागार)मा मतदान कार्यका लागि दक्ष जनशक्ति व्यवस्थापन भएको छ । मतदान केन्द्रको मतदाता सङ्ख्या र संवेदनशीलतालाई मध्यनजर गरिँदै तीनदेखि आठ जनासम्मको जनशक्ति खटाइएको मुख्य निर्वाचन अधिकृत सेनको भनाइ छ । क्षेत्रगतरूपमा प्रतिनिधिसभा क्षेत्र–१ मा नौ सय ८३, २ मा एक हजार १९, ३ मा एक हजार २७ र ४ मा नौ सय ७६ कर्मचारी खटाइएको कार्यालयले स्पष्ट पारेको छ । यसका अतिरिक्त सुरक्षा प्रबन्धका लागि जनशक्ति परिचालित गरिएको छ ।

कर्मचारी खटनपटनसँगै सबै मतदान केन्द्रमा मतदान सामग्री (मतपत्र र अन्य बन्दोबस्तीका समान) पुगेका जनाइएको छ । सबै मतदान केन्द्रका लागि आवश्यक जनशक्ति र सामग्री बन्दोबस्तको काम सकिएपछि अब मतदान पूर्वतयारीको काम (मतपत्र प्याकिङ, सर्टिङ, रुजु र शिलबन्दी) भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महेन्द्र झाले जानकारी दिए  ।

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा आसन्न मङ्सिर ४ को निर्वाचनका लागि तीन लाख ९७ हजार ३० मतदाता छन् । तीमध्ये सबैभन्दा बढी क्षेत्र नं ३ मा ९९ हजार नौ सय ३० छन् । यसैगरी क्रमशः क्षेत्र नं २ मा ९९ हजार सात सय सात, क्षेत्र नं ४ मा ९८ हजार आठ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार चार सय १७ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्