कास्कीमा मङ्सिर १ सम्ममा मतदान केन्द्रमा सामग्री पुग्ने

nirwachan
Ad
  • कालोपाटी सम्बाददाता

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमबहादुर पराजुलीले चुनावका लागि आवश्यक सामग्री व्यवस्थापन र कर्मचारी व्यवस्थापनको काम पूरा भएको कात्तिक ३० गतेदेखि मतदान अधिकृतलाई सामग्री बुझाएपछि मङ्सिर १ गते साँझसम्ममा सम्पूर्ण मतदानस्थलमा सामग्री पुगिसक्ने बताए  ।

उनले  निर्वाचनका लागि आवश्यक ७० थरिका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि प्याकिङ गरेर तयारी अवस्थामा राखिएको जानकारी दिए  ।

त्यसैगरी कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम सम्पन्न भएको छ ।

कास्कीमा कूल दुई लाख ९१ हजार पाँचसय ६८ मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए  ।

 कास्कीमा करिब १० हजारको हाराहारीमा कर्मचारी र सुरक्षाकर्मी स्वयंसेवक परिचालन हुनेछ । एक मतदान केन्द्रमा २० देखि २५ जना जनशक्ति खटिने छन् । विगतको अवस्थालाई हेरेर मत बदर नहोस् भनी मतदाता शिक्षालाई विशेष जोड दिइएको न्यौपानेले बताए  ।

त्यसैगरी आचारसंहिता उल्लङ्घन, विभिन्न कर्मचारी, जनप्रतिनिधिका विरुद्ध परेका उजुरीका सन्दर्भमा पनि निर्वाचन कार्यालयले प्रक्रियागत रुपबाट कारबाही अगाडि बढाएको उनको  भनाइ छ ।

यसैगरी चुनावलाई स्वच्छ निष्पक्ष र भयरहित तरिकाबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण गृहकार्य पूरा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए  । उनले  भने , “मतदान केन्द्र र भौगोलिक र अन्य अवस्थाको विश्लेषण गरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरेका छौँ । यही आधारमा सुरक्षाकर्मीको परिचालन हुनेछ ।”

उनले  निर्वाचनलाई भयरहित र स्वतन्त्ररुपमा आफ्नो मताधिकारको प्रयोग गर्न आमनागरिकलाई आग्रहसमेत गरे  । उनका  अनुसार नेपाल प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरेर तीन हजार सुरक्षाकर्मी मतदानस्थलमा खटिनेछन् । उनले  मतदानपछि मतगणना र मतपरिणामसम्मको अवस्थालाई दृष्टिगत गरी सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिए  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्