निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रतर्फ

Ad
  • कालोपाटी सम्बाददाता

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा कर्मचारी मतदान केन्द्रमा खटिएका छन् ।

निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय मनाङका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए  ।

उहाँका अनुसार एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरी सामग्रीसहित आज मतदान केन्द्रतर्फ पठाइएको हो ।

जिल्लाका २९ मतदान केन्द्रमा ५८ मतदान र सहायक मतदान अधिकृत खटाइएको शर्माले बताए  । निर्वाचनमा खटिएका अधिकृतसहित कर्मचारीले स्वतन्त्र र निष्पक्ष भएर जिम्मेवारी पूरा गर्न उनले  आग्रह गरे  ।

नार्पाभूमि गाउँपालिकाका लागि कात्तिक २९ गतेबाट मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाएर ३० गते पठाएका छौंँ । मङ्सिर १ गते साँझसम्म सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगिसक्नुहुन्छ,” उनले  भने  ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सुरक्षा अवस्था बलियो बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी भई मताधिकार उपयोग गर्न आग्रह गरे  ।

मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ आचार्यले बताउनुभयो । निर्वाचनका लागि मनाङमा दुई सय कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त गरी खटाइएको छ ।

एउटा मात्रै प्रतिनिधसभा र दुई वटा प्रदेशसभा रहेको यस जिल्लामा ६ हजार सात सय ७९ मतदात छन् । चार वटा गाउँपालिका रहेको जिल्लामा एक अस्थायी केन्द्रसहित २९ वटा मतदान केन्द्र रहेका छन् भने प्रदेशसभा १ मा दुई हजार छ सय २४ र प्रदेशसभा २ मा चार हजार एक सय ५५ मतदाता छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्