ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङको ताराखोला गाउँपालिका३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो ।

पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ । “तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन”, उनले  भने , “तालसम्म पहुँचका लागि पूर्वाधार निर्माण हुने हो भने पर्यटकीय गतिविधि बढ्ने थियो ।”

स्थानीय नीरज बगालेले यतिबेला आफूहरु यतिबेला ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताउनुभयो । उनले  स्थानीयहरु ताल छेउछाउ कहिलेकाहीँ वनभोजका लागि जाने गरे पनि बाहिरबाट आउने पर्यटकहरु नभएको बताए  ।

गाउँपालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि रु चार लाख बजेट विनियोजन गरेको थियो भने यसवर्ष प्रदेश सरकारले सहयोग गरेको उनले  जानकारी दिए  । “स्थानीय, प्रदेश र सङ्घबाट आवश्यक बजेट विनियोजन गरी ताल संरक्षण र संरचना निर्माणमा लाग्ने हो भने पर्यटकको सङ्ख्या बढाउन सकिन्छ”, उनले  भने  ।

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि यसका लागि पहल सुरु गरेको छ । यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिए  ।

बागलुङका तीन वटा ताल यसवर्ष संरक्षण र मर्मत सम्भार हुँदैछन्”, उनले  भने , “ताराखोलाको खिउ बराह, ढोरपाटनको रुद्र र तामानखोलाको बराह तालमा काम भइरहेको छ ।”

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले ताराखोला गाउँपालिकामा भएका तालतलैया र धार्मिकस्थलको प्रवद्र्धनका लागि नीति बनाएर अघि बढाउने बताए  ।

हाम्रो पालिका अन्तर्गत धेरै पर्यटकीयस्थल छन्, केही स्थलमा पूर्वाधार निर्माण भइसकेका छन् भने अझै केहीमा काम हुन बाँकी छ, खिउ बराह तालको विकासलाई मुख्य प्राथमितामा राखेर काम गर्नेछौँ,” उनले  भने  ।

उहाँले पर्यटन क्षेत्रको विकास गरी स्थानीयको आयआर्जन बढाउने र जीवनस्तरमा उकास्ने गरी योजना बनाएको दाबी गरे  । खिउ बराह तालबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायत दर्जनौँ हिमश्रुङ्खलासँगै बागलुङका विभिन्न स्थान र म्याग्दी, गल्मी, अर्घाखाँची लगायतका जिल्ला देख्न सकिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्