सन्दीप लामिछाने आज थुनामुक्त हुँदै

sandip_lamichane
Ad
  • कालोपाटी सम्बाददाता

बलात्कार गरेको आरोप खेपेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले  राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्ने आदेश गरेको थियो  ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले आज धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो ।

उक्त निवेदनमाथिको सुनुवाइमा अदालतले धरौटीमा लिएर थुनामुक्त गर्न भनेको छ । पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछानेले जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिएर मात्र उपत्यका छाड्नुपर्नेलगायतको निश्चित आचरणमा बस्नुपर्ने अदालतको आदेशमा छ । भोलि बिहानबाट धरौटी बुझाएर थुनामुक्त हुने प्रक्रिया प्रारम्भ हुनेछ ।

गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिका नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्