नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत भएको छ ।
गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनको राजीनामा स्वीकृत गर्नुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए । राजीनामा स्वीकृत भएसँगै आजै गृह मन्त्रालयले स्वीकृत भएको पत्र प्रहरी प्रधान कार्यालमा पठाइसकेको छ । सिंहले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजीनामा बुझाएका थिए । राजीनामा दिनुअघि सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
जन्ममिति फरक परेको विषय सार्वजनिक भएपछि उहाँले पदबाट राजीनामा दिएका हुन् । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।
नेपाल प्रहरीले पनि उहाँको जन्ममितिका बारेमा आन्तरिक छानबिन गरिरहेको थियो । उनले राजीनामापत्रमा घरायसी कारण उल्लेख गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।