कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा : मन्त्री मोदी

Ad
  • कालोपाटी सम्बाददाता

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाएका  छन्  ।

मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तक्रियामा उनले  कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरु काम प्राथमिकतामा पर्न नसकेकाले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको जानकारी दिए  ।

विसं २०७५ माघदेखि संसद्मा विचाराधीन रहेको निजामति सेवा विधेयक छिट्टै पारित गर्ने गरी काम अघि बढाइएको उनको  भनाइ छ । “विधेयकमा मन्त्रालयको दृष्टिकोण दिइसकेका छौँ, कर्मचारी प्रशासन अब तहगत प्रणालीमा चल्ने भएको छ, कर्मचारी ६० वर्षे उमेर हदसम्म सेवामा बहाल रहने भएका छन्”, उनले  भने  ।

उनले  दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादनसम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको उनको  भनाइ छ ।

देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकामा आफू मन्त्री नियुक्त भई आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी पनि कार्यक्रममा उनले गराए  ।

निजामति अस्पतालमा सुधार गर्ने विषयलाई पनि आफूले प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री मोदीको भनाइ छ । उनले मन्त्रालयले निजामति अस्पताललाई सातै प्रदेशमा विस्तार गर्ने, राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, राष्ट्रिय व्यक्तित्व, शिक्षक र सहिद एवं बेपत्ता परिवारका सदस्यलाई पनि निजामति अस्पतालमा छुटमा उपचार गर्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

मन्त्रालयको पुनःसंरचना गरी कर्मचारी प्रशासनलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने योजनालाई पनि प्राथमिकतामा राखिएको कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्रालयलाई चुस्त रुपमा अघि बढाउन सबैबाट सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता मन्त्री मोदीको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्